×

आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले हान्यो गोली, ६ जनाको ज्यान गयो

images

काठमाडौँ-  मेक्सिकन सेनाले मेक्सिकोको बाटो भएर अवैध रुपमा अमेरिका हिँडेका दर्जनौँ आप्रवासी चढेको ट्रकमा गोली चलाएको छ। सेनाको गोली लागेर ६ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ।

मेक्सिकोको रक्षा मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटना मंगलबार भएको जनाएको छ। घटना मेक्सिकोको दक्षिणी राज्यको चियापसस्थित ह्युइक्स्टला सहरनजिक भएको जनाएको छ।

सैन्य कर्मचारीहरूले इजिप्टियन, नेपाली, क्युवाली, भारतीय, पाकिस्तानी र साउदी अरबका ३३ आप्रवासीहरूको ट्रकमा भएको उल्लेख गरेका छन्। यीमध्ये चारजनाको मृत्यु भएको भनिएको छ। ट्रकमा भएका मध्ये १२ जना घाइते छन् भने १७ जना सुरक्षित रहेका छन्। घाइते १२मध्ये दुईजनाको भने उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ। उनीहरू कसैको पनि पहिचान खुलाइएको छैन।

गोलीबारी ग्वाटेमालाको सिमानामा रहेको तपचुला शहरबाट करिब ४१ किलोमिटर (२५ माईल) टाढा भएको हो। यो क्षेत्र आप्रवासी र शरणार्थीहरू मेक्सिको र अन्य देश प्रवेशबिन्दुको रुपमा परिचित छ। अवैध बाटो (डकं रुट) हुँदै अमेरिका प्रवेश गर्नेहरूले मेक्सिको–ग्वाटेमाला सीमाक्षेत्रको दक्षिण चियापाको रुट प्रयोग गर्दै आउने गरेका छन् । मानव तस्कहरूले नेपाललगायत मुलुकका युवाबाट ठूलो रकम लिएर जोखिमपूर्ण यात्रा गराउँदै उक्त बाटोबाट अवैध रूपमा अमेरिका छिराउने गरेका छन् ।

पछिल्लो समय मेक्सिकोले त्यसरी प्रवेश गर्नेहरूमाथि कडा कारबाही गर्न थालेको छ । अमेरिकाले सीमामा हुने त्यस किसिमका गतिविधि रोक्न मेक्सिको सरकारलाई चेतावनी दिँदै आएको छ । अमेरिकी दबाबका कारण मेक्सिकोले सीमाक्षेत्रमा कडाई गर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

बिहीबार १७ असोज २०८१ ०८:४९ PM मा प्रकाशित

प्रतिक्रिया