×

‘अर्थतन्त्र सही दिशामा’

images

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्र माथि उकास्न उत्पादनमूलक र सेवा क्षेत्रमा लगानी बढोत्तरी गरिनुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४ औं वार्षिक साधारणसभामा उहाँले सरकार अर्थतन्त्रलाई उकास्नेगरी आधारभूत पूर्वाधार र ठूला आयोजना निर्माणमा केन्द्रित भएकाले अबका दिनमा अर्थतन्त्र सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

“गत वर्षको हाम्रो कामसँग म ‘ह्याप्पी’ छु । राष्ट्र बैंकले सही निर्णय र नीति लिएकाले अर्थतन्त्र सही दिशामा अघि बढेको छ”, उपाध्यक्ष पौडेलले भन्नुभयो । उहाँले नेपालमा लाइसेन्स दिँदा घुस लिने प्रचलन बढेको भन्दै लाइसेन्स राजको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा लाइसेन्स दिँदा विभिन्न खाले हल्ला हुने गरेको छ । हरेक क्षेत्रमा सिण्डिकेट छ  । अनेक खालको एकाधिकर मौलाएको छ, त्यसैले लाइसेन्सराजको अन्त्य हुनुपर्छ ।”

 उपाध्यक्ष पौडेलले नेपालमा पनि विस्तारै मानिसले पैसा बचत गर्ने प्रचलन सुुरु भएको र त्यसले अर्थतन्त्र सुधारको बाटोमा जाने विश्वास व्यक्त गर्नुभयो । पहिला नयाँ घर, घडेरी र सवारी साधनमा खर्चिने पैसा अहिले बचत गर्ने प्रवृत्ति बढेको उहाँको भनाइ छ ।

उपाध्यक्ष डा पौडेलले अबको ५ वर्षमा केही सडक आयोजना निर्माण पूरा हुने र त्यसले पनि अर्थतन्त्र सुधारमा सहयोग पुग्ने बताउनुभयो । कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी बढाउन सक्ने हो भने दीर्घकालीन रुपमा अर्थतन्त्रमा स्थायित्व हुने उहाँको धारणा छ ।

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सही दिशामा अघि बढिरहेको बताउनुभयो । श्रम बजार खुल्दै गएको, रेमिटन्स बढेको तथा विदेशी पर्यटक आगामनमा पनि सुधार देखिएकाले अहिले चिन्तित हुने अवस्था नरहेको उहाँले बताउनुभयो ।

गभर्नर अधिकारीले विश्वव्यापी मूल्यवृद्धिका कारण नेपालमा पनि असर परेको बताउनुभयो । मङ्सिर यता सरकारले विभिन्न वस्तुको आयातमा एलसी खोल्नमा कडाइ गर्ने नीतिले बाह्य क्षेत्रमा सहज भएको उहाँले उल्लेख गर्नुभयो । “तरलताको कुरा बारम्बार आउने गरेको र यो कहिले हट्ला भनेर व्यवसायीहरूले बारम्बार सोध्ने गर्नुभएको छ ।

लिक्विडिटीको ‘क्रक्स’ सबैलाई थाहा छ । भुक्तानी सन्तुलन घाटा गएको र बाह्य क्षेत्रमा समस्या आएका कारणले बजारबाट तरलता अन्तै गयो, तर, आन्तरिक रुपमा पैसा हामीसँगै छ । यहाँका बैंक तथा ऋण जसले लिएको उहाँहरूसँगै पैसा छ । तरलताको समस्या समधान गर्न भुक्तानी सन्तुलनको अवस्थामा सुधार आउनैपर्छ यो करेक्सन नभइकन तरलता सहज हुँदैन ।”

 कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको र बजारमा हल्ला भएजस्तो नेपाल कुनै पनि हालतमा श्रीलङ्काको अवस्थामा जान नसक्ने भन्दै केन्द्रीय बैंकले सजकता अपनाउन जरुरी रहेको औंल्याउनुभयो ।

सेजनका पूर्वअध्यक्षद्वय गोपाल तिवारी र गोकर्ण अवस्थी तथा निवर्तमान अध्यक्ष भिमप्रसाद गौतमले अर्थतन्त्रलाई सही दिशाबोध गराउन आर्थिक पत्रकारले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारिताप्रति प्रोत्साहन गर्दै उनीहरूको क्षमता अधिवृद्धिमा सेजनले सशक्त भूमिका निर्बाह गर्दै आएको बताउनुभयो ।

शनिबार १८ भदौ २०७९ ०८:५९ PM मा प्रकाशित

प्रतिक्रिया