×

निजी सहायकसँगको सम्बन्धका कारण नेस्लेका प्रमुख कार्यकारी अधिकृत बर्खास्त

images

काठमाडौँ । एफएमसीजी कम्पनी नेस्लेले आफ्नो प्रमुख कार्यकारी अधिकृत (सिइओ) लरेन्ट फ्रेक्सलाई बर्खास्त गरेको छ । फ्रेक्सको एक सहकर्मीसँगको सम्बन्धका कारण यो कारबाही गरिएको बताइएको हो ।

फ्रेक्सले कम्पनीलाई यो सम्बन्धको बारेमा जानकारी पनि नदिएको बताइएको छ । कम्पनीले अब वरिष्ठ उपाध्यक्ष र नेस्लेको कफी रणनीतिक व्यापार इकाईका प्रमुख फिलिप नभ्रातिललाई उनको ठाउँमा नयाँ सीईओ नियुक्त गरेको छ ।

नेस्ले फ्रेक्सलाई बर्खास्त गर्ने निर्णय एक अनुसन्धान पछि गरिएको बताएको छ, अनुसन्धानमा उनको सम्बन्ध उनकी निजी सहायकसँग रहेको खुलासा भएको खुलासा भएको थियो । यो अनुसन्धान कम्पनीका अध्यक्ष पल बुल्के र प्रमुख स्वतन्त्र निर्देशक पाब्लो इस्लाद्वारा गरिएको थियो भने कम्पनी बाहिरका वकिलहरूको सहयोग पनि लिइएको उल्लेख गरिएको छ । अध्यक्ष बुल्केले नेस्लेको मूल्यमान्यता र नियमहरूले धेरै अर्थ राख्ने भन्दै  लरेन्टलाई उनको धेरै वर्षको सेवाको लागि धन्यवाद दिएका छन् ।

लरेन्ट फ्रेक्सलाई गत वर्ष मात्र प्रमुख कार्यकारी बनाइएको थियो । त्यतिबेला नेस्लेको स्टक २०२२ को सुरुवातको तुलनामा लगभग ४० प्रतिशतले घटेको थियो । त्यतिबेला तौल घटाउने औषधिका कारण युरोप र अमेरिकामा मानिसहरूको खाने बानी परिवर्तन भइरहेको थियो । फ्रेक्सले कम्पनीमा लगभग ४० वर्ष काम गरेका थिए र मार्क स्नाइडरलाई प्रतिस्थापन गरेका थिए ।

फिलिप नवरातिललाई कम्पनीको नयाँ सीईओ बनाइएको छ । उनले २००१ मा नेस्लेमा आन्तरिक लेखा परीक्षकको रूपमा काम सुरु गरेका थिए र २००९ मा नेस्ले होन्डुरसको कन्ट्री म्यानेजर बनेका थिए । २०१३ मा, उनले मेक्सिकोमा कम्पनीको कफी र पेय पदार्थ व्यवसाय सम्हालेका थिए । गत वर्ष उनी नेस्ले नेस्प्रेसोका प्रमुख कार्यकारी बने र यस वर्ष कार्यकारी बोर्डमा सामेल भएका थिए । 

यसअघि जुलाई १९ मा, टेक कम्पनी एस्ट्रोनोमरका सीईओ एन्डी बायर्नले कोल्डप्ले कन्सर्टमा मानव संसाधन प्रमुखसँग रोमान्स गरिरहेको देखेपछि राजीनामा दिनुपरेको थियो । त्यपछि, मानव संसाधन प्रमुख क्रिस्टिन क्याबोटले पनि राजीनामा दिएकी थिइन् ।

 

बुधबार १८ भदौ २०८२ १०:५४ AM मा प्रकाशित

प्रतिक्रिया