काठमाडौँ। भक्तपुर जिल्ला अदालतले विवादित मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। आइतबार राति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्न माग गरे पनि अदालतले त्यसलाई अस्वीकार गर्दै रिहा गर्न सोमबार साँझ आदेश दिएको हो।
न्यायाधीश नवराज दाहालको इजलासले प्रसाईंलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएसँगै उनी सोमबार साँझ नै प्रहरी हिरासतबाट मुक्त भएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरले सरकारी वकिलको कार्यालयमार्फत प्रसाईंलाई हिरासतमै राखेर अनुसन्धान गर्न ७ दिनको म्याद अनुमति मागेको थियो। तर, अदालतले थप हिरासत म्याद आवश्यक नदेखिएको ठहर गरेको हो। प्रहरीले प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर (सार्वजनिक नैतिकता तथा शिष्टाचार विरुद्ध) र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीनवटा अभियोगमा अनुसन्धान अघि बढाएको थियो।
अदालतले भौतिक पूर्वाग्रहका लागि थुनामै राख्न अस्वीकार गरे पनि उनीमाथिको कानुनी अनुसन्धान भने निरन्तर जारी रहने स्पष्ट पारेको छ। प्रसाईं पक्राउ परेलत्तै उनकी पत्नी उमा प्रसाईंले सोमबार नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर गरेकी थिइन्। तर, जिल्ला अदालतले नै सुरुमै रिहािको आदेश दिएको हो।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरी हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलनको घोषणा गरेलगत्तै प्रसाईंलाई सोही राति अपराध अनुसन्धान कार्यालय र भक्तपुर प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। परिस्थिति थप भड्काउन सक्ने आशंकामा प्रहरीले 'प्रिभेन्टिभ' एक्सन लिए पनि अदालतले थुनामा राख्ने कानुनी आधार पर्याप्त नमानेपछि प्रसाईं २४ घण्टा नबित्दै आफन्तको जिम्मामा थुनामुक्त भएका छन्।
यो समाचार इ-सञ्चारपाटी डटकमका लागि तयार पारिएको हो।
प्रतिक्रिया