×

कोरोना महामारीका सामग्री ः केही प्रयोग, केही प्रयोगविहीन

images

दाङका कोरोना अस्पतालहरुका केही सामग्री नियमित प्रयोगमा आइरहेका छन् भने केही सामग्री प्रयोगमा आउन सकेका छैनन् ।  बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल हाल राप्ती प्रादेशिक अस्पतालको कोरोना इकाइका केही सामग्री त्यतिकै थन्काएर राखिएको छ । 

कोरोना इकाइका इञ्चार्ज सुष्मा वलीका अनुसार कोरोना महामारीका बेला चलेको अस्पताको भेन्टिलेटर अहिले भने ठप्प अवस्थामा छ । आइसियुमा भने दम लगायतका बिरामीलाई राखेर उपचार गर्ने गरिएको छ । कोरोना आइसोलेशनमा अहिले उच्च सुरक्षा कक्षका रुपमा सञ्चालित रहेको छ । “भेन्टिलेटर चल्न सकेको छैन”, उहाँले भन्नुभयो, “आइसियु कक्ष भने नियमित सञ्चालित छ ।”

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिल्लाभन्दा बाहिरका समेत स्वाब पिसिआर परीक्षण गर्ने गरिएको थियो । परीक्षण गर्ने मेशिन अहिले पनि सञ्चालित छ । अस्पतालका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार वैदेशिक रोजगारमा जानेहरु, बिरामीहरु, एक ठाउँबाट अर्को ठाउँमा जानेहरुका लागि पिसिआर परीक्षण गर्ने गरिएको छ । दैनिक सात÷आठ जनाको यसरी स्वाब परीक्षण हुने गरेको उनको भनाइ छ । आइसियुलगायतका अन्य सामग्री भने नियमित प्रयोग भइरहेको सूचना अधिकारी भट्टराइको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको मेट्रो अस्पतालको आइसोलेशन भने अहिले प्रायः प्रयोगविहीन हुने गरेको छ । मेट्रो अस्पतालमा ४० शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको थियो । तर त्यो सेन्टर अहिले सुनसान जस्तै देखिन्छ । आइसोलेशन सेन्टरमा रहेका आइसियु शय्याहरु खाली छन् । 

कहिलेकाहीँ दमका बिरामी आएमा आइसोलेशन सेन्टरमै अक्सिजन दिएर राख्ने गरिने भए पनि प्रायः जसो ताला लगाएर राख्नुपर्ने अवस्था रहेको अस्पतालका स्टोर प्रमुख रोमहर्स केसीले बताउनुभयो । “कहिलेकाहीँ दम लगायतका बिरामीहरु आउँछन्, उनीहरुलाई राखेर उपचार गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “नत्र प्रायः सुनसान जस्तै हुन्छ ।” दाङमा प्रतिष्ठान, बेलझुण्डी अस्पताल र तुलसीपुर उपमहानगरपालिकाको मेट्रो अस्पतालमा कोरोना आइसोलेशन निर्माण गरिएको थियो ।

बुधबार १८ साउन २०७९ ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया