×

पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष एक महिना कैद

images

काठमाडौं । विशेष अदालतले मधेस प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष एक महिना कैद सजाय सुनाएको छ। जेठ ४ गते दोषी ठहर भएका सिंहको सजाय निर्धारणका लागि मंगलबार तोकिएको पेसीपछि अदालतले सजायको फैसला सुनाएको हो।

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले कैदसँगै ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तिराउने फैसला समेत गरेको छ। यसका साथै, एक लाख ५४ हजार पाँच रुपैयाँ क्षतिपूर्ति बापत असुलउपर गर्ने निर्णय पनि अदालतले गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश सांसद सिंहसहित १६ जनाविरुद्ध २०८२ असोज ३० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मधेस प्रदेशका पूर्वराज्यमन्त्री समेत रहेका सिंहमाथि संसदीय विकास कोषको विकास आयोजनामा उपभोक्ता समितिबाट ३८ लाख ५० हजार ३३९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो।

उनले सो रकम आफ्ना स्वकीय सचिव विनोदकुमार लाल कायस्थमार्फत निकाल्न लगाई आफ्नो र श्रीमतीको नाममा रहेको बैंक खातामा जम्मा गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी थियो। सोही अभियोगमा विशेष अदालतले उनलाई दोषी ठहर गर्दै जरिवाना र कैद सजायको फैसला सुनाएको हो।

बुधबार २० जेठ २०८३ ०८:२२ PM मा प्रकाशित

प्रतिक्रिया