नेपाल भलिबल सङ्घको आगामी भदौमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि निरोज मास्केले उम्मेदवारीको घोषणा गर्नुभएको छ ।
भलिबल सङ्घका वर्तमान उपाध्यक्ष मास्केले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाली भलिबलको व्यावसायिकता र संस्थागत विकासका लागि नेतृत्वमा आफ्नो दाबी रहेको भन्दै उम्मेदवारी घोषणा गर्नुभएको हो । नेपाल भलिबल सङ्घको केन्द्रीय निर्वाचन भने आगामी भदौ २२ गते काठमाडौँमा हुँदैछ ।
उहाँले भलिबलको पूर्वाधार विकासदेखि प्रशिक्षण, प्रोत्साहन र प्रशासनिक सुधारको कार्यक्रमलाई अघि सार्ने बताउनुभयो । त्यसैगरी उहाँले ग्रासरुटदेखि विभिन्न तहको भलिबल टोली निर्माण गर्ने, सोहीअनुसारको कार्यक्रम गर्ने, काठमाडौँसहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र सङ्घको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने भनाइ व्यक्त गर्नुभयो ।
त्यस्तै भलिबललाई विद्यालय तहदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म जोड्नेदेखि चार वर्षमा चार लाख नेपालीलाई भलिबलको प्रत्यक्ष सञ्जालमा जोड्ने महत्वकाङ्क्षी एजेण्डा रहेको उहाँले बताउनुभयो । कार्यसमिति सदस्यका रूपमा १६ वर्षअघि सङ्घमा प्रवेश गर्नुभएका उहाँले एक कार्यकाल कोषाध्यक्षका रूपमा समेत काम गरिसक्नुभएको छ । भलिबल नेपालको राष्ट्रिय खेलसमेत हो ।
प्रतिक्रिया