×

क्युवाका राजदूत मारिनद्वारा भक्तपुरको सम्पदा एवं विकासको अवलोकन

images

नेपाल तथा भारतका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले आज भक्तपुर नगरपालिका क्षेत्रका ऐतिहासिक एवं विश्व सम्पदा सूचीमा रहेको सम्पदाको अवलोकन गर्नुभएको छ । भक्तपुर नगरपालिका आउनुभएका उहाँलाई नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो ।

त्यसबीचमा क्युवाली राजदूत मारिनले क्युवा र नेपालबीचको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालले क्युवाप्रति देखाएको ऐक्यबद्धता र सदासयताका लागि अभार प्रकट गर्नुभयो । नेपालमा आफ्नो पहिलो भ्रमण भएको र नगरपालिकाले स्वागत गरेकामा खुसी व्यक्त गर्दै उहाँले समुन्नत समाज निर्माणका निम्ति क्युवा र नेपालको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

नगर प्रमुख प्रजापतिले नेपाल र क्युवाबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै क्युवाको साम्राज्यवाद विरोधी आन्दोलनमा नेमकिपाको ऐक्यबद्धता रहेको बताउनुभयो । नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पनि समाजवादी देशबाट सिक्दै शिक्षामा शिशुस्याहारदेखि उच्च शिक्षा अध्ययनका लागि कलेज सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

भक्तपुर नगर प्रवेशका निम्ति गैरसार्क देशका लागि रु एक हजार ५०० र सार्क तथा चीनका नागरिकको लागि रु ५०० प्रवेश शुल्क लिने व्यवस्था रहेको र ती सङ्कलित रकमबाट भक्तपुरका  सम्पदा पुनःनिर्माण, संरक्षण तथा शिक्षा र स्वास्थ्यमा खर्च भइरहेको उहाँले जानकारी गराउनुभयो ।

राजदूत मारिनले भक्तपुरको दरबार क्षेत्र, सुनढोका, वत्सला मन्दिर र टौमढी क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले राजदूत मारिनलाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, छात्ती पुनःस्थापना केन्द्र र ख्वप इन्जिनियरिङको समेत अवलोकन गराउनुभएको थियो ।

नेमकिपा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडाध्यक्षद्वय रवीन्द्र ज्याख्व र उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा र प्रशासकीय अधिकृत दामोदर सुवाललगायतले राजदूत मारिनलाई भक्तपुरको विकासको बारेमा जानकारी गराउनुभएको थियो ।

बुधबार १८ फागुन २०७८ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया