×

म अभिमन्यु होइन, मेरो मौनता आजसम्मका लागि- सभापति रवि लामिछाने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् । सामाजिक सञ्जालमा चेतावनीयुक्त स्टाटस लेख्दै उनले लेखेका छन्, ‘म अभिमन्यु होइन ।’

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन’, लामिछानेले भनेका छन् । नागरिकता विवादमा सर्वोच्चको फैसलापछि सांसद र मन्त्री गुमाएका रविको आइतबार नेपाली नागरिकता कायम भइसकेको छ ।

उनी पुन: गृहमन्त्रालयमा फर्किन चाहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनलाई गृहमन्त्री दिन सकारात्मक छैनन् । तर गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने रविको पक्षमा उभिएका छन् ।

बिहीबार विराटनगर पुगेका ओलीले सञ्चारकर्मीसँग भने, ‘कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो । त्यहीअनुसार जानुपर्छ । रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ। छलफल भइरहेको छ । खटपट भएको छैन । हामीले गृहमन्त्रालय उहाँहरूलाई दिएका हौँ । रास्वपाले गृहमन्त्री रवि लामिछानेलाई बनाएको थियो । उनीहरूलाई गृहमन्त्रालय नदिने छुट्टै कुरा भएको भए त्यसले अप्ठ्यारो पैदा गर्छ तर, त्यस्तो भएको छैन ।’

सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि उनको सांसदसहित उपप्रधानमन्त्री र गृहमन्त्रीको पद गुमेको छ । नागरिकता पुनः प्राप्तिपछि उनी पुनः सरकारमा सोही पदमा फर्कन दौडधुप गरिरहेका छन् ।

यद्यपि, पार्टीको सङ्कल्पविपरीत चोर बाटोबाट मन्त्री बन्न लागेको तथा पासपोर्ट दुरुपयोगबारे अनुसन्धान जारी रहेका बेला स्वार्थ बाझिने गरी तालुकदार मन्त्रालयमा फर्कन लागेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । यस विषयमा उनको पार्टीसमेत दुई धारमा विभाजित रहेको छ ।

बिहीबार १९ माघ २०७९ ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया