×

पार्टीविरुद्धको आक्रमणको प्रतिकार गर्न नेता कार्यकर्तालाई ओलीको आग्रह, ओलीमाथि रावलको आरोप प्रचण्डको 'कपि पेस्ट'

images

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध भइरहेका आक्रमणको प्रतिकार गर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टी कार्यालय च्यासलमा विहिबार बसेको एमाले सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रधानमन्त्री ओलीले पार्टीविरुद्धको गतिविधिको प्रतिकार गर्न आग्रह गरेका हुन् । बैठकमा ओलीले पूर्वउपाध्यक्ष भीम रावलले तत्लोस्तरमा झरेर गालीगलौजमा गरेको भन्दै प्रतिवाद गर्नसमेत नेताहरुलाई निर्देशन दिएका थिए । 

रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय स्वभाविक भएको निष्कर्ष एमालेको छ । सचिवालय बैठकले यही पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदन पारित परेको छ । 

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा सरकारको समीक्षा र पछिल्ला राजनीतिक घटनाक्रमका विषय समेटिएको छ । कांग्रेस र एमालेबीचको सत्ता गठबन्धनको विषयलाई समेत प्रतिवेदनमा प्रष्टाइएको छ । आजको बैठकले पार्टी नेतृत्वको सरकारका साढे पाँच महिनामा केही आशा देखाउने काम भएको ठहर गरेको छ ।

साथै एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी कारबाहीमा परेका भीम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका छन्। बिहीबारको सचिवालय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै उनले रावलको आरोप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले २०७७ सालमा लगाएको भन्दा भिन्न नरहेको बताए। उनले त्यो खाले आरोप अपेक्षाभन्दा बाहिरको भएको बताएका छन्।

‘हामीले धेरै छलफल गरेनौं। उहाँले भनेको नौलो कुरा भएन। २०७७ साल कात्तिकमा यिनै भाषामा प्रचण्डले अध्यक्ष ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो। एक किसिमले कपिपेस्ट जस्तै हो,’ उनले भने। यसले उल्टै रावलभित्रको नकारात्मकता छरपष्ट भएको उनको आरोप छ।

उनले एमाले गालीगलौजको प्रतिस्पर्धामा नगएर देश बनाउने अभियानमा लाग्ने बताएका छन्। यसका साथै आजको सचिवालय बैठकले ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ। पुस २१ र २२ गते बस्ने केन्द्रीय कमिटीका निम्ति तयार गरिएको राजनीतिक प्रतिवेदन अध्यक्ष ओलीले प्रस्तुत गर्ने बताएका हुन्।

आजको बैठकमा राजनीतिक प्रतिवेदनका मुख्य विषयमा छलफल भएको उनले जानकारी दिए। एमाले र नेपाली कांग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरबारेमा प्रतिवेदनमा उल्लेख गरिएको उनले जनाए। बैठकमा सरकार गठन यताको ६ महिनाको समीक्षा गरिएको पनि उनको भनाइ छ।

बिहीबार १८ पुस २०८१ ०७:४५ PM मा प्रकाशित

प्रतिक्रिया