×

फिफाले फुटबलबाट कसरी पैसा कमाउँछ ?

images

व्यवसायको सामान्य सिद्धान्त हुन्छ कि धेरै मानिसले रुचाउने उत्पादन बनाउने र त्यसलाई बेचेर नाफा कमाउने। यद्यपि विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भने कुनै पनि उत्पादन नबनाइकन नै निकै छिटो ठूलो रकम आम्दानी गर्ने गरेको छ। 

सन् २०१८ मा रुसमा भएको विश्वकप फुटबलमा फिफाले ४ अर्ब ६० करोड डलर आम्दानी गरेको थियो। फिफाले आयोजक कमिटी, पुरस्कारको पैसा, भ्रमण खर्च र टोली र टोलीका कर्मचारीहरुको लागि आवश्यक सामग्रीको खर्च व्यहोर्ने गर्छ। त्यसका साथै फिफाले विश्वकप सकिएपछि आयोजक मुलुकमा खेलकुदको विकासको लागि पनि खर्च गर्ने गरेको छ। 

कतार विश्वकपमा जित हात पार्ने टोलीले ४ करोड ४० लाख डलर पैसा पाउँछ। समग्रमा फिफाले ४४ करोड डलर पुरस्कार वितरण गर्छ। 
यहाँ फिफाको आम्दानीका विभिन्न स्रोतबाट चर्चा गरिएको छ– 

टीभी राइट्स 
फिफाको अधिकांश आम्दानी विश्वकप र अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको ब्रोडकास्टको अधिकार बिक्रीबाट हुन्छ। २०१५–२०१८ को चार वर्षको अवधिमा फिफाले टीभी राइट्सबाट ४ अर्ब ६० करोड डलर आम्दानी गरेको थियो। 

मार्केटिङ राइट्स 
विश्वव्यापी ब्राण्डहरुले कुनै पनि प्रतियोगिताको लागि प्रायोजन गरेको पैसा बुझाउँछन्। विश्वका ठूला ब्राण्डहरुले आफ्नो प्रचार र सामाजिक उत्तरदायित्वको कामका लागि पनि फिफा विश्वकपमा प्रायोजन गर्ने गरेका छन्। फिफा विश्वकप विश्वभरका पाँच अर्बभन्दा धेरै मानिसले हेर्ने भएकाले पनि कुनै पनि ब्राण्डको लागि यो प्रतियोगिता आफ्नो प्रचारको महत्वपूर्ण अवसर हो।

त्यसैले पनि उनीहरुले यो प्रतियोगितालाई प्रायोजन गर्छन्। २०१८ विश्वकपअघिको चार वर्षको अवधिमा फिफाले एक अर्ब ६६ करोड डलरबराबरको आम्दानी मार्केटिङ राइट्सबाट गरेको थियो। सन् २०२१ मा विश्वकपसम्बन्धी कुनै पनि खेल नहुँदा पनि फिफाले १३ करोड १० लाख डलर आम्दानी मार्केटिङ राइट्स बिक्रीबाट गरेको थियो। 

टिकट बिक्री र सेवा 
कुनै पनि प्रतियोगिताको टिकट बिक्री फिफाको आम्दानीको अर्को स्रोत हो। टिकट बिक्रीबाट आउने सबै रकम  फिफाको स्वामित्वमा रहेको कम्पनीलाई जान्छ। सन् २०१५–१८ को अवधिमा फिफाले टिकट बिक्रीबाट ७१ करोड २० लाख डलर आम्दानी गरेको थियो। 

सन् २०२१ मा फिफाले अरब कपमा टिकट बिक्रीबाट करिब १ करोड २० लाख डलर आम्दानी गरेको थियो। कतार विश्वकपका लागि करिब ३० लाख टिकट बिक्री भइसकेका छन्। टिकटको मूल्य पनि एक सय देखि ११ सय डलरको बीचमा छ। त्यसैले टिकट बिक्रीको आधारमा यो वर्ष फिफाको आम्दानी उल्लेख्य हुन सक्ने देखिएको छ।

ब्राण्डिङ तथा अनुमति 
फिफाले आफ्नो ब्राण्ड प्रयोगको अनुमतिबाट पनि उल्लेख्य आम्दानी गर्ने गरेको छ। यसको एउटा उदाहरण फिफा फुटबल गेम्सको इलेक्ट्रोनिक आर्टस् (ईए) सिरिज पनि हो। ईएले २० अर्ब अमेरिकी डलरमा २० वर्षको लागि फिफासँग सम्झौता गरेको छ। गेम्स निर्माताले फिफाको नाम प्रयोग गरेबापत वार्षिक १५ करोड डलर बुझाउनुपर्ने हुन्छ। 

सन् २०२१ मा फिफाले आफ्नो ब्राण्ड व्यापारिक प्रयोजनको लागि बिक्रीबाट १८ करोड डलर आम्दानी गरेको थियो। सोही वर्ष फिफाले सन् २०१५ मा फिफाका शीर्ष अधिकारीहरुमाथि लगाइएको भ्रष्टाचारको मुद्दापछि व्यवसायमा लागेको नोक्सानीको क्षतिपूर्तिबापत अमेरिकाको न्याय मन्त्रालयबाट २० करोड १० लाख डलर पाएको थियो। अलजाजिराबाट

बिहीबार १५ मंसिर २०७९ ०२:४२ PM मा प्रकाशित

प्रतिक्रिया