×

पूर्व युवराज पारसको क्यारिकेचरबाट चर्चित पौडेल

images

काठमाडौं । ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन–२’को बिजेता हुन । घरबेटी र डेरावालबीचको प्रहसनदेखि नेताहरु गोकुल बाँस्कोटा, महन्त ठाकुर, रामनारायण बिडारीसम्मका क्यारिकेचरले उनको चर्चा सुरु भएको थियो । सबैभन्दा चर्चित प्रस्तुति त पूर्व युवराज पारसको क्यारिकेचर थियो। 

आफू स्ट्यान्ड अप कमेडीमा केन्द्रित रहेका भरतमणिे बताउँछन्। ‘सबैकुरा क्यारिकेचरको मात्र होइन । मेरा प्रस्तुतिलाई दर्शकले मन पराइदिनुभयो र म बिजेता भएँ । देश तथा विदेशबाट भोट दिनुभयो । मैले, उत्कृष्ट २४ मा पुगेपछि हरेक साता राम्रो गर्ने कोसिस गरे। कुनै साता मेरो प्रस्तुति तल त कुनै बेला माथि भयो होला तर मैले एकनासले सबै कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने कोसिस गरेँ ।’ 

क्यारिकेचर भनेपछि हुरुक्कै
सानै उमेरदेखि नै गाउँघरमा भेटेका मान्छेहरुको क्यारिकेचर गर्न खुब रमाइलो लाग्थ्यो भरतमणिलाई। २०६७ सालमा एसएलसी दिएपछि उनको त्यो रहर अझै झाङ्गिदै गयो। पछिल्ला दश वर्ष यसैमा बिताइरहेका छन् उनी। २०५२ सालमा ताप्लेजुङमा जन्मेका भरतमणिको बाल्यकाल गाउँमै बित्यो । दुःख थियो तर त्यो दु।खलाई उहाँले आफ्नै ढङ्गले बिताए । त्यही दुःख, अभाव र गाउँले परिवेशले हास्यव्यङ्ग्यका लागि उनलाई धेरै विषय पनि दियो र जीवनबारे उनको बुझाइ फराकिलो बन्यो। उनी भन्छन्, ‘गाउँमा मेरो दिनचर्या पनि अरूको जस्तै गरी बितेको हो । सामान्य परिवारमा जन्मिएर हुर्केको हुँ । ७ कक्षासम्म श्री युवा वर्ष निम्न माध्यमिक विद्यालयमा र ८ कक्षादेखि श्री कञ्चन एकेडेमी विद्यालयमा पढेँ। एसएलसी दिँदा अङ्ग्रेजीमा फेल भएँ। अहिले पनि म अङ्ग्रेजीमा कमजोर नै छु । स्कुल पढ्दादेखि नै स्टेजप्रतिको मोह बढ्दै गयो। स्कुलमा आयोजना हुने अतिरिक्त क्रियाकलापहरूमा पनि सरिक हुन थालेँ । शिक्षकहरुले त्यो बेला दिनुभएकोे हौसलाले आज पनि प्रेरणा मिलेको छ । उहाँहरुले मलाई स्टेजमा लगेर क्यारिकेचर गर्न लगाउनुहुन्थ्यो । यसरी नै यो क्षेत्रमा मेरो यात्रा शुरु भएको हो ।’ 

ताप्लेजुङकै भानु जन उच्च माध्यामिक विद्यालयमा कक्षा ११ मा पढ्दा नै उनले एफएममा हास्यव्यङ्ग्य कार्यक्रम चलाउन थाले । पढाइभन्दा हास्यव्यङ्ग्यमै रमाउन थालेपछि कक्षा ११ मा चारवटा विषयमा गोल खाए । यही गोलले उनमा पढाइप्रति वितृष्णा जाग्यो । एकवर्ष त पढाइ नै छोडे । जिन्दगीमा अब पढ्न सक्दिनँ भन्ने उनलाई लागिसकेको थियो । तर काठमाडौं आएपछि पढ्नुपर्छ भन्ने पनि महसुस भयो र पुनः पढाइलाई निरन्तरता दिए । ११ र १२ कक्षा ब्रिलिएन्ट बहुमुखी क्याम्पसमा पढेर लगातार पास गरे र स्नातक तह जीपी मेमोरियल कलेजमा पढे । 

एफएममा काम 
उनको हास्यव्यङ्ग्य विद्यालय र सार्वजनिक कार्यक्रमहरुमा मात्र होइन ताप्लेजुङको एफएमबाट पनि प्रशारण हुन थाल्यो । एफएमले दिएको त्यो अवसर भरतमणिका लागि प्रगतिको खुड्किलो बन्न पुग्यो । तमोर एफएममा २०६७ सालदेखि उनी आवद्ध भए । गाउँघरमा भर्खर भर्खर एफएम खुल्दै थिए । आम मानिसहरु टेलिभिजनको तुलनामा एफएमसँगै अभ्यस्त थिए । अहिले टेलिभिजन, पत्रपत्रिकाको जति क्रेज छ, त्यतिबेला गाउँमा एफएमको पनि त्यस्तै क्रेज थियो ।  ‘त्यतिबेला एफएममाको कार्यक्रमले पूर्वीभेगमा मलाई राम्रसँग चिनायो । यही कारण म स्टेजमा पनि जान पाउँथेँ । मैले ‘टेन्सन फ्रि’ भन्ने कार्यक्रम त्यो बेला एफएममा चलाउँथे । यही व्यस्तताले पढाइतिर ध्यान दिन पुग्न सकेन ।’ 

काठमाडौँ प्रवेश
एफएममा काम गर्दागर्दै भरतमणिका सम्बन्धहरु फराकिला बन्दै गए । काठमाडौँ आउने अवसर मिल्यो । तमोर एफएमका अध्यक्ष रमेश बराल र उपाध्यक्ष पासाङ शेर्पा लगायतले उनलाई काठमाडौँबाट प्रशारण हुने तमोर एफएममा काम गर्ने बातावरण मिलाइदिए । स्टुडियो मित्रपार्क चावहिलमा थियो ९अहिले छैन० । त्यहाँ लामो समय उनले काम गरे र त्यहाँ काम गर्दागर्दै मनोज गजुरेलसँग रेडियो नेपालमा ‘धर्ती आकाश’ भन्ने कार्यक्रममा अवसर जुर्‍यो। त्यसपछि मनोज गजुरेलसँगै गाईजात्राको पनि एकदुई भागमा उनले आफ्नो हास्यव्यङ्ग्य प्रस्तुति दिए । सङ्घर्षको बेला काम सानो–ठूलो भन्ने नै नहुने उनको अनुभव छ, ‘म सङ्घर्ष गरेर नै यो क्षेत्रमा आएको हुँ । सङ्घर्षको बेला कसले राम्रो रोल दिन्छ भनेर हिँड्ने होइन । भद्रगोल भन्ने सिरियलमा पनि अभिनय गरेँ । भद्रगोलमा अभिनय गर्ने अवसर मलाई हरिश निरौला ९ककरोच० ले जुराइदिनुभएको थियो । त्यहाँ पनि मैले सानो सानो भूमिकामै भएपनि दुईवर्ष जति काम गरेँ । शुरुमा काठमाडौँ बस्दा मेरो आफ्नो कोठा पनि थिएन । म तमोर एफएमकै अफिसमा बस्थे ।’

कमेडी च्याम्पियनको यात्रा 
कमेडी च्याम्पियन पहिलो सिजनमा नै भरतमणिलाई सहभागी हुन मन थियो तर विविध कारणले गर्दा उनले निर्णय लिन सकेनन् । सिरियलमा काम थियो, पैसा थिएन । नाम भएपनि हुन्छ भनेर उनी त्यतैतिर दौडिए। सिरियलमा काम गर्दाखेरिका कतिपय सुखदुःखका अनुभव त कमेडी च्याम्पियन सिजन–२ कै लागि पनि बिषय बन्न पुगे । आफ्नो यो यात्रा सम्झँदै उनी भन्छन्, ‘अब मैले गर्न खोजेको चीज कहाँ देखाउने त । अर्काले दिएको काम त आफुले भने अनुसार हुँदैन। एक मन त अभिनय सिकेर सिरियलतिर जाउँ कि भन्ने पनि लाग्यो । फेरि ‘स्ट्यान्ड अप कमेडी’ पनि गरिरहेको थिएँ । कहाँ छ त मञ्च भन्ने पनि भयो । त्यतिबेलै कमेडी च्याम्पियन सिजन–१ आयो । सिजन–१ मा जान खोजेको थिएँ तर त्यतिबेला आफ्नै युटुयुब चलाइरहेको थिएँ। सिजन–१ का साथीहरु सुमन कोइराला ९दले दाइ०, सुमन कार्कीसँग सल्लाह पनि गर्थेँ ।’ सिजन–१ मा सहभागी भएका साथीहरुको अनुभवले पनि भरतमणिलाई सिजन–२ मा केही सजिलो पनि भयो । हप्तैपिच्छे कन्टेट लेख्नुपर्छ, प्रेसर फिल हुन्छ, कार्यक्रम बिचमा नै छाडेर हिँडौँ हिँडौँ पनि हुन्छ । त्यतिबेला आफू संयमित भएर बस्नुपर्छ भनेर सिजन–१ का साथीहरूले उनलाई सुझाव दिन्थे । त्यसपछि यो क्षेत्रमा केही गरेर देखाउनुपर्छ भन्न उनलाई लाग्न थाल्यो ।

कार्यक्रमको प्रस्तुतिका क्रममा भएको डर उनी अहिले पनि सम्झन्छन् । ‘सुरुसुरुका दिन त म रातोपिरो भएर जजका अगाडि बोल्न पनि गाह्रो हुन्थ्यो । फेरि छनोट भइन भनेँ के गर्ने होला भन्ने पनि लाग्थ्यो । बल्लबल्ल छनोट भइयो । तर दुई÷चारजनाको अगाडि हँसाउन मलाई गाह्रो हुने । धेरैजना भयो भने मात्र हँसाउन सजिलो लाग्ने मलाई । २४ जनाको छनोटबाट नै सबैले ‘नोटिस’ गर्न थाल्नुभयो । २४ जनामध्ये ‘पर्फमर अफ राउण्ड’ पनि पाएँ । यसले फेरि केही त गर्नुपर्छ भन्ने दबाब बढायो ।’ 

भरतमणिले दिएको दर्जनौं प्रस्तुतिहरु उतिकै राम्रा थिए तर धेरैले घरभेटी र भाडामा बस्नेको समस्याबारे बनाइएको कन्टेन्ट मन पराए । घरभेटीले भाडामा बस्नेलाई कस्तो व्यवहार गर्छन् भन्ने कुरा यसमा देखाइएको छ । यस्तै, भरतमणि पत्रकारहरुको समस्याबारे जानकार नै थिए । पत्रकारका बिषयमा व्यङ्ग्य गर्नेभन्दा पनि आफै नै पत्रकार भएर प्रस्तुति दिए । दर्शकहरुले यसलाई पनि एकदमै रुचाए । यसपछि उनले एलियनको प्रस्तुति दिए तर यो प्रस्तुति अलि खस्कियो । 

पारस शाह बन्नका लागि भने भरतमणिले डेढ वर्षअघि नै सोच बनाएका थिए । उनले पारसको हाउभाउ र बोली दुरुस्तै उतार्नका लागि शुरुमा उनका अन्तर्वार्ताहरु खोजीखोजी हेर्ने थाले ।  उहाँले भन्छन्, ‘यो प्रस्तुतिका लागि मैले उनको बोल्ने, हिंड्ने, नाच्ने सबै शैलीलाई सूक्ष्म रुपमा अध्ययन गरेको थिएँ ।’

शनिबार १५ असोज २०७९ ०८:२० AM मा प्रकाशित

प्रतिक्रिया