शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रद्वारा सबै प्रदेशमा मुटु रोग उपचार सेवा पुर्‍याउने घोषणा

    images

    काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचार सेवा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बागमती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

    बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार सेवा विस्तार गर्ने निर्णय गर्दै यसका लागि काम अघि बढाउने घोषणा गरेको हो । अब मन्त्रालयसँगको समन्वयमा केन्द्रले थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउनेछ ।

    बैठकमा मन्त्री पौडेलले मन्त्रालयले सबै प्रदेशमा प्रादेशिक अस्पतालहरूमार्फत विशिष्टकृत उपचार विस्तार गर्ने योजनाअन्तर्गत क्यान्सर उपचार सुरु भइसकेको भन्दै मुटु रोगको उपचारसमेत विस्तारको निर्णय गर्न प्रस्ताव गरेका थिए । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा विशिष्टकृत उपचार सेवा प्रादेशिक अस्पतालहरूमार्फत विस्तार गर्ने घोषणा गरेका थिए । मन्त्रालयले हालै मात्र अर्थको स्वीकृतिपछि जलन उपचार सेवासमेत सबै प्रदेशमा आफ्नै स्रोतमा निःशुल्क रूपमा सञ्चालन गर्ने तयारी अघि बढाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

    मङ्गलबार १५ असोज २०८१ ०७:५७ PM मा प्रकाशित

    प्रतिक्रिया