काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै, संगठन निर्माणका लागि आत्मसमिक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् ।
बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे । उनले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए ।
भर्चुअल बैठकमा सहभागी हुनुको कारण स्पष्ट पार्दै प्रचण्डले भने, 'सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्यो। दशैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि दुई दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु ।'
प्रचण्डले सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए । उनले भने- 'अब सबै नेता–कार्यकर्ताले गाउँ–बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ।'
त्यसैगरी, उहाँले पार्टीभित्र आत्मसमिक्षा र आलोचना–आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै, हरेक कमरेडले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए ।
प्रचण्डले पार्टी सरकारमा रहँदा हासिल गरिएका उपलब्धिहरू, त्यसपछिको खबरदारी अभियान तथा जनसंगठनहरूले सञ्चालन गरेका गतिविधिका कारण माओवादीप्रति जनविश्वास पुनः बढेको बताए ।
बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेपछि प्रचण्डले स्पष्ट पार्दै भने- 'हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्। पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ ।'
प्रचण्डले सुदूरपश्चिमलाई राजनीतिक र सांगठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश बताउँदै, त्यहाँका नेता तथा कार्यकर्ताहरूलाई व्यवस्थित, योजनाबद्ध, केन्द्रित र परिचालित गर्ने आवश्यकता औंल्याए ।
उनले भने- 'सुदूरपश्चिम सम्भावनायुक्त प्रदेश हो – क्रान्तिको समयमा पनि र अहिले शान्तिको समयमै पनि। त्यहाँ नेता–कार्यकर्ताहरूको ठूलो जमात छ। त्यसलाई व्यवस्थित गर्ने, योजनाबद्ध गर्ने, केन्द्रित गर्ने र परिचालन गर्ने चुनौती हाम्रो अगाडि छ ।'
बैठकमा विशिष्ट अतिथि पार्टी उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले सुदूरपश्चिममा पार्टीको भावी रणनीति, सांगठनिक विस्तार तथा स्थानीय तहसम्मको पहुँच विस्तारबारे स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुभयो। उहाँले सुदूरपश्चिमको विशेष परिस्थितिअनुसार जनसम्पर्क र संगठन सुदृढीकरणमा केन्द्रित हुने बताए ।
भर्चुअल बैठकमार्फत प्रचण्डले पार्टीलाई एकीकृत, केन्द्रित र अभियानमुखी बनाउनेमा जोड दिँदै कार्यकर्तालाई संगठन निर्माण र आत्मसमिक्षाको बाटोमा अघि बढाउने रणनीति प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया