×

व्यापार सम्झौता गर्न भारत अनिच्छुक, प्रधानमन्त्री प्रचण्डको भ्रमण सद्भावनामा सीमित रहने संकेत

images


काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नेरेन्द्र मोदीबीच आज नयाँदिल्लीको हैदरावाद हाउसमा द्विपक्षी भेटवार्ता हुँदैछ । मोदीसँगको भेटका क्रममा िद्विपक्षीय आर्थिक सहमतिमा हस्ताक्षर, केही विकास परियोजनाको उद्घाटन एवं संयुक्त पत्रकार सम्मेलनको गर्ने भएको छ । समकक्षी मोदीसँगको भेटपछि प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले दिल्लीमा आयोजना गरिएको नेपाल–भारत व्यापार सम्मेलनमा सहभागिता जनाउने तय भएको छ । प्रधानमन्त्री दाहाल भारतको मध्यप्रदेशको उज्जैन र इन्दोरको भ्रमण गरेर आगामी शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यात्राका क्रममा हिजो भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग प्रधानमन्त्री दाहालको भएको भेटवार्तामा यसअघि तय गरिएका द्विपक्षीय सम्झौतामा भारतले अनिच्छा देखाएको भनक पाएका प्रधानमन्त्री प्रचण्डले आफ्ना अधिकारीहरूलाई बोलाएर “भारत जलविद्युत, हवाई रुट र महाकाली सम्झौतालाई अगाडि बढाउने मुख्य विषयमा उदार देखिएन, यो सद्भावना यात्रा हुने भो, त्यतिमै सीमित रहन्छ भने ठीकै छ” भनी बताएको समाचार स्रोत उल्लेख गरेको छ । तर भारतीय पक्षले द्विपक्षीय सम्झौताबारे आज बिहानसम्म पक्का खबर गर्ने बताएको भ्रमणमा संलग्न नेपाली अधिकारीहरूले जनाएको छ ।

स्रोतका अनसार प्रधानमन्त्री दाहालले डोभाल र क्वात्रासँग भारतको नवनिर्मित संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्साबारे चासो राख्दै भने, ‘दुई देशबीच विश्वासको वातावरण बनिरहेको बेला तपाइँहरूले यो सब किन गर्नुपरेको ? हाम्रोतिर पनि मान्छेहरू ग्रेटर नेपाल भनेर नक्सा छाप्छन्, के हामीले बनाउँदै गरेको संसद् भवनमा ग्रेटर नेपालको नक्सा राख्ने ?।”

प्रधानमन्त्री दाहालको चासोको जवाफ दिँदै भारतीय अधिकारीहरूले भने ‘अखण्ड भारत’ सांस्कृतिक भावना भएकाले यसलाई राजनीतिक अर्थमा नलिन आग्रह गरेका थिए । ‘वार्ताका लागि एजेन्डा धेरै भए पनि नेपालका तर्फबाट मुख्यतः तीन प्राथमिकता छन् । पहिलो– भारतसँग विद्युत् व्यापारका लागि २५ वर्षको सम्झौता । दोस्रो– कम्तीमा महेन्द्रनगरबाट आऊजाऊ गर्न मिल्ने हवाई रुट थप । तेस्रो– महाकालीको पानी बाँडफाँटसहित पञ्चेश्वर परियोजनाको टुंगो । तर यी एजेन्डा सबै थाँतीमा पर्ने सम्भावना बढ्दै गएको छ ।

बिहीबार १८ जेठ २०८० ०९:४८ AM मा प्रकाशित

प्रतिक्रिया