“पर्दाले ढाक्यो, पर्दाले छेक्या,े हे दिदी ! मलाई !
म रुने छैन ! गएर भोलि भेटुंला तिन्लाई,
हे दैव ! पर्दा चाँदै नै उठा ! धन्य छ तँलाई ! ”
(यो पंक्ति महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रशिद्ध खण्डकाव्य मुनामदनको हो )
जुन पर्दा काम छैन त्यही पर्दाले ढाकेको छ, छेकेको छ ,भने अब त्यो पर्दा चाँदै उठाइ हाल भन्ने भाव यो पंक्तिले संकेत गरेको छ ।
त्यस्तै गरी लिच्छविकालमा चलेको नेपालकोसंवत् शकसंवत् पनि होइन , मानदेवसंवत् पनि होइन भन्ने कुरा तत्कालीन अभिलेखहरुले बताइ रहेको छ । तर यो कुरालाई प्वालैप्वाल परिसकेको प्रमाणहीन सुमतितन्त्र नामको पर्दा ल्याएर ढाक्ने छेक्ने दुष्प्रयास मान्छेहरूले अझैपनि गर्दै आइरहेका छन् । सुमतितन्त्र नामको स्रोत काम लाग्दैन भनी यस अघि सप्रमाण तथ्य आधार दिएर धेरै लेखहरु अघिसार्दै आएकै छ र ती प्रमाण अकाट्य सिद्ध भएकै छ । यस्तै अनगिन्ती अकाट्य प्रमाणहरु छन् जुन धारावाहिक रुपमा प्रस्तुत हुंदै जानेनै छ । जसमध्ये धारावाहिक श्रृंखलाको अर्को अकाट्य प्रमाणहरू यसरी प्रस्तुत हुंदै छ ।
वि.सं २०४६ सालको अन्तिमअन्तिम तिर गोकर्ण बालुवा गाउंमा संवत् ५३६ को लिच्छविलिपि युक्त शिला अभिलेख भेटिएका थिए । त्यसको ३२ वर्ष पछि वि.सं २०७८ सालको उत्तरार्धमा आएर फेरि संवत् ५३६ कै अर्को अभिलेख पाटन मंगलबजारमा ढल खन्ने क्रममा भेटिएका थिए । यदि यी अभिलेखहरू वि.सं २०३० साल भन्दा अगावै भेटिएको भए निःसन्देह भन्न सकिन्छ कि सुमतितन्त्र नामको पर्दामा उसबेला मै प्वाल परेको देखी सक्थ्यो । किनभने संवत् ५३६ का यी अभिलेखहरू स्वयं महासामन्त अंशुवर्माले राखेका शिलालेख हुन् ।
वि.सं २०३० मा प्रशिद्ध इतिहासकार धनवज्र वज्राचार्यले लिच्छविकालीन अभिलेखहरू संकलन गरी लिच्छविकालका अभिलेख नामक ग्रन्थ संपादन गर्दा त्यस बखत मै संवत् ५३६ को अभिलेख प्राप्त भएको भए त्यसलाई अनदेखा गर्न पाइने पनि थिएन र गर्ने पनि थिएन । त्यस्तै गरी वि.सं २०४३ सालमा इतिहास र गणितमा शीर्षस्थ कहलिएका पं नयराज पन्तले पनि संवत् ५३६ को अंशुवर्माको अभिलेख भेटी सकेको भए त्यसलाई उहाँले पनि अनदेखा गर्दै तिथिमिति गणना गरी लिच्छवि संवत्को निर्णय नामक ग्रन्थ रचना गर्ने नै थिएन । त्यतिवेला उहाँहरुलाई पनि त्यही सुमतितन्त्र नामको पर्दाले नै ढाकेको हुनाले त्रुटीले स्थान पाएको कुरा अहिले आएर खुलस्त हुन आएको हो । यदि उहाँहरुमा अलिकति मात्रामा भए पनि इमान्दारिता भएको भए संवत् ५३६ को अभिलेख भेटिनासाथ आफनो सम्पादन र निर्णयमा तत्कालै संशोधन गरी हाल्नु पर्ने थियो । तर दूर्भाग्य भन्नु पर्छ उहाँहरूले आफनो कृतिमा रत्तीभर पनि संशोधन गर्ने प्रयास गर्नु भएनन् । अतः उहाँहरुका ती कृतिहरुमा अहिले अनगिन्ती मात्रामा त्रुटीका धाँजाहरू देखा परेकोले गर्दा इतिहासमा अनेकौं फाटेका कुराहरु देखा पर्न थालेका हुन् ।
नेपालमा लिच्छविकालीन अभिलेखहरू संकलन, सम्पादन, व्याख्या र विश्लेषण गर्ने कार्यको शुरुवात भारतका पं भगवानलाल इन्द्रजी आए देखि याने वि.सं १९३७ देखि नै भएको भन्नु पर्छ । उनले गरेको सम्पादनमा काठमाडौं ज्यावहालको संवत् ५३५ को अभिलेख पनि परेको छ । त्यसपछि अरु पनि विदेशी तथा स्वदेशी इतिहासकारहरूले लिच्छविकालका अभिलेख संकलन र प्राचीन इतिहास लेख्दा संवत् ५३५ को अभिलेखलाई अंशुवर्माको अभिलेख हुनै नसक्ने भन्दै व्याख्या विश्लेषण हुंदै आएको कुरालाई बिर्सन मिल्दैन । संवत् ५३६ को अभिलेखमा दृष्टान्त रुपले अंशुवर्माको नाम देखादेख पनि अनदेखा गर्न खोज्नु भनेको ज्यादती र बिडम्वना हो नभनेर के भन्ने प्रश्न उठ्छ ।
तत्कालीन अभिलेखहरूलाई नियालेर हेर्ने हो भने संवत् ५१६ देखि ५२६ सम्म अंशुवर्माको नाम राजा शिवदेव संगै देखापर्छ भने संवत् ५२६ उप्रान्त शिवदेवको नाम देखा परेन । यसको अर्थ संवत् ५२६ उप्रान्त ५४५ सम्म अंशुवर्मा एकलको नाम मात्र देखापर्ने गरेको पाइन्छ । यसरी संवत् ५२६ उप्रान्त संवत् ५४५ भित्र स्वयं अंशुवर्माले अगाडि पाँच सय भएको संवत् पनि प्रयोग गरेको र पाँच सय नभएको संवत् पनि प्रयोग गरेको तथ्य संवत् ५३६ का अभिलेखहरू प्राप्तिले छर्लड्ड पारिसकेको छ । यो केवल तर्क मात्र होइन गणनाले समेत सिद्ध गराइसकेको कुरा हो । त्यो गणनामा सुमतितन्त्र कतै पनि उपयोगी सिद्ध हुन सकेन । यसको मुख्य कारण भनेको सुमतितन्त्र आफैमा विरोधाभास पूर्ण भएर नै हो ।
सुमतितन्त्र आफैमा विरोधाभास रहेको ज्वलन्त उदाहरणहरू
१. भक्तपुर इनायचोको अभिलेख
त्यस अभिलेखमा “ संवत् ३१ द्वितीयपौषशुक्लाष्टम्याम्” मिति दिइएको छ । भक्तपुर अनन्तलिंगेश्वरको अभिलेख अनुसार लिच्छविकालमा व्यवहार भएको संवत्मिति कार्तिकादि थियो भन्ने तथ्य अकाट्य सिद्ध भइसकेको छ । लिच्छविकालमा विक्रमसंवत्को कुनै प्रकारको गुञ्जाइस देखिंदैन । अतः विक्रमसंवत् र लिच्छविकालमा व्यवहार भएको संवत्को बीच कुनै सम्वन्ध छैन ।
सुमतितन्त्रको मूल वाक्यमा युधिस्थिर दुर्योधनसंवत् ,नन्दसंवत्,चन्द्रगुप्तसंवत्,सूद्रकदेवसंवत् र शकसंवत्को उल्लेख छन् तर ती संवत्हरू कार्तिकादि भनेर सिद्ध गरेको चर्चा कहीं कतै उल्लेख छैन ।
यहाँ शकसंवत् ४९८ सम्म चल्यो भनेको कुरालाई समात्यौं भने संवत् ३१ + ४९८ गर्दा समकालीन शक ५२९ हुन्छ । यहाँ मुख्य बाझिने कुरो भनेको संवत् ३१ कार्तिकादि तिरको संवत् हो भने शक ४९८ भनेको चैत्रादि तिरको संवत् हो । यदि शकसंवत् पनि कार्तिकादि नै हो भनियो भने त झन कुरै सक्कियो संवत् ३१ जहाँबाट शुरु भइ जहाँगएर अन्त हुन्छ शक ५२९ पनि त्यहींबाट शुरु भएर त्यहीं गएर अन्त हुने भयो । तर गणकहरुले बदमासी के ग¥यो त भन्दा भन्नेबेलामा शकसंवत् पनि कार्तिकादि भन्ने तर गणना देखाउंदा भने संवत् ३१ भनेको शक ५२९ को कार्तिक देखि शक ५३० को असोज सम्म रहन्छ भनी देखाउंदा लाजको लिहाज नै नराखी निर्लज्जता देखाउन पुगेका छन् । यसरी मोही माग्ने तर ढुंग्रो लुकाउने किन ? प्रष्टै हुन्छ कि शकसंवत् भनेको चैत्रादिसंवत् नै हो कार्तिकादि होइनन् भनी आफैले सिद्ध गरिरहेका छन् ।
त्यसकारण सुमतितन्त्र आफैमा विरोधाभासपूर्ण छ भन्ने कुराको ज्वलन्त उदाहरण यो औंल्याउन सकिन्छ कि लिच्छविकालमा व्यवहार भएको संवत् कार्तिकादि हो भने सुमतितन्त्रमा उल्लेख भएका शकसंवत् लगायत सवै चैत्रादि संवत् हुन् भनेर स्वतःसिद्ध छ । यदि गणकले गरेको कैफियतलाई गणना भनेर मान्यौं भने विक्रमसंवत्को उल्लेख सुमतितन्त्रमा छ भन्नु पनि बदमासी नै हो र संवत् ३१ मा ६३३ जोडेर वि.सं ६६४ बनाउने युक्ति पनि फट्याईं हो । तव संवत् ३१ भनेको वि.सं ६६४ को कार्तिक देखि वि.सं ६६५ को असोज सम्म रहन्छ भन्दै त्यही ६६४ र ६६५ बाट १३५ । १३५ घटाएर शक ५२९ को कार्तिक देखि शक ५३० को असोज सम्म रहन्छ भन्नु सोह्रै आना बदमासी हो । यसरी बदमासीको पोल खोल्ने क्रममा अभिलेखको मितिमा अधिमास छ तर शक ५२९ को वर्षमा अधिमास छैन शक ५३० को जेठमा मात्र अधिमास परेको देखाउन शकसंवत् चैत्रादि वर्ष नै हो भन्ने सतहमा ओर्लनु परे पछि शकसंवत् पनि कार्तिकादि हुन सक्छ भन्दै आएको ती फट्याईंलाई लुकाउने कहाँ प्रश्न खडा हुन्छ ।
२. पाटन सुनधाराको अभिलेख
त्यस अभिलेखमा “ संवत् ३४ प्रथमपौषशुक्लद्वितीयायाम्” मिति दिइएको छ । भक्तपुर अनन्तलिंगेश्वरको अभिलेख अनुसार लिच्छविकालमा व्यवहार भएकोसंवत् मिति कार्तिकादि थियो भन्ने तथ्य अकाट्य सिद्ध भइसकेको छ ।
सुमतितन्त्रले शकसंवत् ४९८ सम्म चल्यो भनेको कुरालाई समात्यौं भने संवत् ३४ + ४९८ गर्दा समकालीन शक ५३२ हुन्छ । जव शकसंवत् पनि कार्तिकादि नै हो भन्छ भने जसरी संवत् ३४ को अभिलेखमा अधिमास भए पछि शक ५३२ मा पनि अधिमास परेको देखिनु पर्यो । यदि संवत् ३४ भनेको शक ५३२ को कार्तिक देखि शक ५३३ को असोज सम्म रहन्छ र शक ५३३ वैशाखमा परेको अधिमास त्यही वर्ष भित्र परेको देखाउंछ भने सर्वप्रथम लाजलाई कहाँ लुकाउने हो त्यो नै व्यवस्थापन गर्नु परेन भन्ने प्रश्न उठ्छ । किनभने शकसंवत् पनि कार्तिकादि किन हुन सक्दैन भनी दावा गरेको कुरा त यहीं निर तुहियो । जव संवत् ३४ भनेको शक ५३२ को कार्तिक देखि शक ५३३ को असोज सम्म रहन्छ भन्छभने अभिलेखको संवत् मात्र कार्तिकादि रहेछ, शकसंवत् चाहीं चैत्रादि नै हो भन्ने त लुकेन । ठूलोठूलो कुरा गर्दा विक्रमसंवत् गुजरातमा कार्तिकादि भएर चल्न सक्छ भने नेपालमा वैशाखादि भएर चली रहे झैं शक संवत् पनि भारतमा चैत्रादि र नेपालमा कार्तिकादि भनेर जुन दावा गर्थे त्यो कुरा त सोह्रै आना फटाहा सावित भयो भन्नु परेन त प्रश्न खडा हुन्छ ।
३ चाँगुको अंशुवर्माको अभिलेख
त्यस अभिलेखमा “ संवत् ३१ माघशुक्ल त्रयोदशी तिष्यनक्षत्र आइतवार ” मिति दिइएको छ । भक्तपुर अनन्तलिंगेश्वरको अभिलेख अनुसार लिच्छविकालमा व्यवहार भएको संवत् मिति कार्तिकादि थियो भन्ने तथ्य अकाट्य सिद्ध भइसकेको छ ।
सुमतितन्त्रले शकसंवत् ४९८ सम्म चल्यो भनेको कुरालाई समात्यौं भने संवत् ३१ + ४९८ गर्दा समकालीन शक ५२९ हुन्छ । तव संवत् ३१ माघशुक्ल त्रयोदशी तिष्यनक्षत्र आइतवार भनेको शकसंवत् ५२९ माघशुक्ल त्रयोदशी तिष्यनक्षत्र आइतवार भन्नु पर्ने हुन्छ । सुमतितन्त्रमा विक्रमसंवत्को कुनै बिउ सम्मको पनि उल्लेख छैन । त्यसैले सोझै संवत् ३१ माघ भनेको शक ५२९ माघ नभनी ३१ मा ६३३ जोडेर वि.सं ६६४ बनाई फेरि त्यसबाट १३५ घटाई शक ५२९ हुन्छ भन्नुलाई बदमासी मात्र भन्न सकिन्छ । चैत्रादि शक ५२९ को चैत्र देखि माघ शुक्ल त्रयोदशी सम्मको चै१वै२जे३आ४ श्रा५भा६ अ७का८मं९पौ१० र माघ शुक्ल १३ को १३ तिथि ) यी सवै तिथिको जोड ३१३ हुन्छ । शक ५२९ को बाँकी तिथि ४७ समेत गन्दा ३६० हुन्छ । सावनमान अनुसार १वर्षमा ३६० दिन हुन्छ । शक ५२९ को वर्षमा अधिमास परेको छैन । यति कुरा प्रष्ट रुपमा सारा मान्छेले बुझेको सर्वविदित कुरा हो ।
संवत् ३१ माघ शुक्ल त्रयोदशी तिष्य नक्षत्र आइतवारको तिथिमिति गणना गर्दा गणकले शक ५२९ को माघ शुकल त्रयोदशी सम्मको तिथिगण ३४३ देखाउनु भयो यो भनेको जाली फटाहापनको पराकाष्ठा देखाउनु हो । जव त्यो वर्षको माघ शुक्ल त्रयोदशी सम्मको तिथिगण ३४३ देखाइन्छ भने त्यही वर्षका बाँकी ४७ समेत जोड गर्दा शक ५२९ को वर्षमा ३९० हुनजान्छ । यदि सम्पूर्ण शास्त्र एक ठाउंमा थुपारे पनि त्यहाँ ३९० तिथि वा दिन भएको गणित भेटिने होइन भनी थाहा भइभइकन वर्षमा ३९० दिनको आधारमा गणना गरी सुमतितन्त्रको आधारमा गणना गरेको भन्दै दुनियाँलाई बेवकूफ बनाउनु भनेका आफुले कमाएको साख आफैले घटाएको भन्नु बराबर हो । यसले गणकको इज्जत बढेको भन्न मिल्दैन । त्यसमाथि यही संसर्गमा एकदुई जना उपबुज्रुक निस्केर अधिमास भएको वर्षमा ३९० दिन हुने त होनि भन्दै गलत कुरालाई फेरि पृष्ठपोषणगर्न खोज्नेहरू देखापरे तर उनीहरु बीचैमा हराए । यसको मतलव अधिमास भएको वर्षमा पनि ३९० दिन हुने होइन त्यसमाथि शक ५२९ को वर्षमा अधिमास परेको पनि छैन भन्ने बुझेर होला भन्न सकिन्छ ।
४. केशर पुस्तकालयमा रहेको सौश्रुति संहिता सहोत्तरतन्त्रको पुष्पिका वाक्य
त्यस पुष्पिकामा “ संवत् ३०१ वैशाखशुक्ल सप्तमी तिष्यनक्षत्र आइतवार सिद्धयोग ” मिति दिइएको छ । भक्तपुर अनन्तलिंगेश्वरको अभिलेख अनुसार लिच्छविकालमा व्यवहार भएको संवत् मिति कार्तिकादि थियो भन्ने तथ्य अकाट्य सिद्ध भइसकेको छ ।
सुमतितन्त्रले शकसंवत् ४९८ सम्म चल्यो भनेको कुरालाई समात्यौं भने संवत् ३०१ + ४९८ गर्दा समकालीन शक ७९९ हुन्छ । तव संवत् ३०१ वैशाखशुक्ल सप्तमी तिष्यनक्षत्र आइतवार भनेको शकसंवत् ७९९ वैशाखशुक्ल सप्तमी तिष्यनक्षत्र आइतवार भन्नु पर्ने हुन्छ । तर गणकले यसलाई झेल गरी शकसंवत् ८०० वैशाख बनाएर दुनियाँलाई बेवकूफ बनाएको छ । किनभने सुमतितन्त्रले ४९८ र ४९९ जोड्ने प्रावधान पनि दिइएको छैन भने ६३३ र ६३४ जोड्ने प्रावधान पनि दिइएको छैन । फेरि कार्तिकादि संवत् वैशाखमा ३०१ बाट ३०२ हुने पनि होइन र कार्तिकादि मानेको शकसंवत् पनि वैशाखमा ७९९ बाट ८०० हुने होइन । यदि चैत्रादि शकसंवत्लाई आधार बनाइयो भने कार्तिकमा ७९९ हुने संवत् वैशाखमा ८०० हुनसक्छ अवश्य हो । त्यसो भए पछि लिच्छविकालमा चलेको कार्तिकादि संवत् भनी सिद्ध भएको संवत्लाई शकसंवत् नै हो भनी बालहठ जस्तै गरी हठ गरिरहने किन भन्ने प्रश्न खडा हुन्छ ।
सुमतितन्त्रमा विक्रमसंवत्को कुनै बिउ सम्मको पनि उल्लेख छैन । अतः संवत् ३०१ मा ६३३ जोडी ९३४ बनाउनु पर्ने किन ? त्यही संवत् ३०१ भनेको वि.सं ९३४ को कार्तिक देखि ९३५ का असोज सम्म बस्छ गर्नु पर्ने कुनै जरुरी छैन । फेरि शक ७९९ र ८०० मा आउन ९३४ र ९३५ मा १३५ । १३५ घटाएर ल्याउनु भनेको सोह्रै आना बदमासी हो । सुमतितन्त्रको नाम लिइयो भन्दैमा गणकलाई यी सवै कैफियत गर्न छूट दिइएको बिल्कूलै होइन । यसरी कैफियत नै कैफियत गरी गणना गरिएका गणनालाई किमार्थ आदर्श मान्न सकिन्न भन्ने कुरा ढाकिंदै छेकिंदै आएको पर्दा हटे पछि देखिने छ र महशूस गरिनेछ । त्यसकारण यस प्रकारको पर्दा कहिले सम्म राखी रहने हो हे दैव ! चाँदै उठा भन्नु परेको छ ।
निष्कर्ष
गरीवले लगाएको सुन पित्तल देख्छ भने धनीले लगाएको पित्तल सुन देख्छ भनेझैं ज्ञानको क्षेत्रमा पनि सामान्य मान्छेले लेखेको सत्य कुरालाई कसैले महत्वले हेरिंदैन तर दिग्गज कहलिएकाले असत्य कुरा लेखे पनि त्यसलाई बडो महत्व दिएर हेर्छन् । यो पनि एक प्रकारको पर्दा नै हो । यस प्रकारको पर्दा हटेर जान निक्कै समय लाग्छ ।
ऐतिहासिक स्रोतकै कुरा गर्दा वि.सं १९३७ मा भगवानलाल इन्द्रजीले संवत् ५३५ को काठमाडौं ज्यावहालको अभिलेख संकलन गर्दा यसलाई अंशुवर्माको अभिलेख भनेर मानेको थिएन । साँच्चै भनौं भने यो मान्यता अहिले पनि यथावत् छ । भलै संवत् ५३६ को अंशुवर्मा कै अभिलेखहरू गोकर्ण बालुवा गाउमा भेटियोस् कि पाटन मंगलबजारमा भेटियोस् कुनै मतलव राखेको छैन । त्यो किन त भन्दा दिग्गज इतिहासकार भनाउंदाहरूले अहिलेसम्म यसलाई कुनै मतलवै राखेको छैन । यदि यसलाई महत्व दिनासाथ इतिहास नै आमूल परिवर्तन हुनजाने हुन्छ । तव यसलाई पर्दाले ढाक्ने र छेक्ने गरेरै राख्न मै भलाई देखे । फलस्वरुप अझ पनि पर्दाले ढाक्यो पर्दाले नै छेक्यो भइरहेका छन् ।
यसो भयो भन्दैमा सत्य कुरा लेख्ने मान्छे कहिल्यै निराश हुनु पर्दैन किनकि सत्य डग्दैन असत्य टिक्दैन भन्ने उखानै छ । अव आएर धेरैले बुझी सके कि सुमतितन्त्र नामको पर्दामा प्वालै प्वाल परिसकेको छ । नगन्य मात्रामा साना तिना प्वाल त कति परे कति परे त्यसको लेखा जोखा गरेरै साध्य छैन । ठूलठूला प्वाल मध्ये मुख्यत यही कि सुमतितन्त्रमा शकसंवत् ४९८ सम्म चलेको कुरा मूल पाठमा छँदै छ । यदि शकसंवत् पनि कार्तिकादि भएको भए संवत् ३०१ कार्तिकमा पनि ४९८ जोड्ने र वैशाखमा पनि ४९८ नै जोडेर हेर्दा कार्तिकमा पनि शक ७९९ र वैशाखमा पनि शक ७९९ हुने हुन्छ । तर वैशाखमा शक ८०० बनाउनु परे पछि सुमतितन्त्रमा प्वाल परि हाल्यो । लिच्छवि अभिलेखको संवत् मात्र कार्तिकादि शकसंवत् चाहीं चैत्रादि भएकोले ४९८ लाई चैत्र भन्दा पछिकोमा जोडे अघिकोमा ४९७ मात्र जोड्नु पर्ने हुन्छ भने अघिकोमा जोडे पछिकोमा ४९९ जोड्नु पर्ने हुन्छ । यी कुरा पनि सुमतितन्त्रले कहीं कतै बोलेकै छैन ।
संवत् ३१ को माघको अभिलेखमा ४९८ जोड्दा शक ५२९ भए भने चैत्र भन्दा पछाडि शक ५३० बनाउन ४९९ जोड्नुपर्ने हुन्छ । त्यो प्रावधान सुमतितन्त्रमा छैन । संवत् ३०१ वैशाखको अभिलेखको मिति शक ८०० वैशाख बनाउन ४९९ नै जोड्नु पर्दा सुमतितन्त्रको मर्म बिपरीत गएको भयो । यसतो भद्दा प्वालहरू अब कति ठाउंमा टालेर बस्ने त्यो अब संभव छैन । त्यसैले हे दैव ! पर्दा चाँदै नै उठा धन्य छ तँलाई भन्नु पर्ने अवस्था आयो । त्यस्ता प्वालैप्वालको पर्दाले ढाकी रहँदा छेकी रहँदा पनि हे दैव ! किन टुलुटुलु हेरिरहेको हो भन्नु परेको छ ।
प्रतिक्रिया