असंभव र अस्वभाविक हरेक कुरा इतिहास बिधा भित्र बर्जित हुनेकुरा हुन् । त्यतिमात्र होइन चाप्लुसीको हेतुले लेखिएका कुराहरु पनि इतिहासबाट अस्वीकृत हुने कुरा नै हुन् । साँच्चै इतिहासलाई गहिरिएर अध्ययन गर्ने हो भने युद्धको इतिहासमा कीर्तिपुरेको साहस र बीरताको मुक्त कण्ठले प्रशंसा गर्नै पर्दछ । तर चाप्लुसी देखाउन लेखिएका इतिहासमा कीर्तिपुरको लडाईमा कीर्तिपुरले जितेको भनेर कहीं कतै लेखिएन । उल्टो कीर्तिपुरेको नाक काटेको भनी बेइज्जत गर्ने कुरा मात्र लेखियो । वास्तवमा यो बिडम्वना नै हो ।
धेरै वर्ष अघि कीर्तिपुरको एक प्रतिष्ठित व्यक्तिसंग कुराकानी भएको थियो । त्यसक्रममा उनले भनेको एउटा कुरा बारम्वार याद आइरहने गर्दछ । यदि कसैले न्हाय् मरु कीपुमि भन्दै गिज्याइयो भने कीर्तिपुरेहरुलाई रीश उठ्छ कि उठ्दैन भनी सोद्धा उनका भनाइ अनुसार रीस उठ्ने मात्र होइन जति पनि नेपालमा इतिहास भनेर लेखिए ती केवल चाप्लुसी पाराले लेखेका र लेखाइएका छन् त्यही भएर उनको भनाइमा हामी कीर्तिपुरी बासिन्दालाई साँच्चै भन्नुपर्दा नेपालको इतिहास भनेर लेखिएका छन् ती पुस्तक पढ्न मन लाग्दैन त्यही भएर इतिहास पढ्नु भन्दा अरु विषय लिएर पढ्नु नै उचित ठान्छु भन्दै आक्रोस व्यक्त गरेको त्यो क्षण अहिले पनि याद छ । हुनपनि नाम चलेका इतिहासकार भनाउंदाहरु पनि समय अनुसार बारबार रंग फेर्ने छेपारे कुरा मात्र गर्ने गर्दछन् । पाठकहरुले याद गरेको छ कि छैन थाहा भएन ती ती इतिहासकारहरुको बोली अहिले फेरिन थालेको पाइन्छ ।
पहिलेको बोली अनुसार कीर्तिपुरको लडाइमा गोरखाली फौजको ठूलो नोक्सान भए त्यसमा सेनापति कालुपाँडे मारिनु,पृथ्वीनारायण शाह नै स्वयं ज्यान जोगाएर भाग्न परेको हुनु, पृथ्वीनारायण शाहका भाइहरु सूरप्रताप शाहको आँखा फुट्नु दलजीत शाह नराम्ररी घाइते हुनु, फौजका थुप्रै सिपाही मारिनुले प्रतिशोध स्वरुप कीर्तिपुरेहरुको नाक काटेको भनेर लेख्ने गर्दथ्यो भने
अहिले गणतन्त्र आइ सके पछि कुरै नबुझी लहैलहैमा लाग्ने केही मानिसहरुले पृथ्वीनारायण शाहको फोटोमा थुक्ने र कुल्चिने गरेको देखेर त्यही इतिहासकारको बोलीमा पनि पृथ्वीनारायण शाहले नाक काट्ने काम नगरि दिएको भए हुन्थ्यो जस्ता छेपारे कुरा गर्न थालेको बिभिन्न संचार माध्यममा प्रचार भइरहेको देख्दै आइ रहेको छ । त्यस्ता छेपारे कुराले इतिहासको महिमा बढ्ने होइन उल्टो त्यो त इतिहासलाई भड्खालोमा हाल्ने कुरा हुन गएको भन्न सकिन्छ ।
नाक काटेको कुरा
यथार्थमा कुरा बिल्कूल फरक छ । वास्तवमा नाक काटेको हो तर इतिहासमा जुन किसिमको वर्णन गरिएको हो त्यस किसिमको चाहीं बिल्कूल होइन । युद्ध गर्न आउनेहरु सामना गर्नेको शत्रु हुन्छ भने सामना गर्नेहरु युद्ध गर्न आउनेको शत्रु हुन्छ यो ध्रुव सत्य भनेपनि हुन्छ । गोरखाली फौजलाई दुई दुई चोटी परास्त गरेर काठमाडौं उपत्यका कै लागि ठूलो सानमान कीर्तिपुरीहरुले राखेको थियो । त्यो सानमान कीर्तिपुरका तात्कालिक काजि सिंख्वाल, काजि धनवन्त लगायत केही काजिका परिवारले माटोमा मिलाइ दिए । भनाइको मतलव रातको समयमा कीर्तिपुर गोपुरको ढोका खोली दिएर गोर्खाली फौजलाई सहजै कीर्तिपुर भित्र हुल्न मद्दत गरे । यस्तो धोकेवाज काम ती काजीहरुले गरेको कारण कीर्तिपुरवासीले गोरखाली भन्दापनि काजीहरु देखी अत्यन्त रीशले चुर भइ ती काजीका खलकमा बालक बूढा र महिला बाहेक सवैलाई पाता कसी शहर घुमाइ जनसभामा ल्याई यिनीहरुलाई के सजाय दिने भन्दा सवैले हाम्रो कीर्तिपुर को इज्जत फाली दिने नाक तोड्नेलाई यिनीहरुको पनि नाक काट्ने र सवैले थुक्ने भनी सारा जनताले जनकारवाही तय गरी सजाय गरेकोले यो ठाउंमा अहिले पनि थुक्ने चलन छ । काजी खलकका १७ जवान पुरुषको नाक काट्ने काम कीर्तिपुरे जनताले नै सजाय गरेको कुरालाई पछि उल्टोपाल्टो पारी अनेकौं अतिशयोक्तिपूर्ण निन्दा गरी अपव्याख्या गरियो ।
असंभव र अस्वाभाविक कथन
पोखरीमा बल्छी हाल्दा खरायो अल्झेर आयो र झाडीमा पाशो हाल्दा माछा प¥यो भन्ने कथन कसैले गर्न आयो भने हत् वाहियात भनेर हप्काएर पठाउंछ । ठीक त्यस्तै दुई दुई चोटी गोरखाली फौजलाई नराम्रो संग हराएर पठाउन सक्ने कीर्तिपुरे बहादुर जनता १७ धार्नी नाक नपुगेसम्म लुरुलुरु आफ्नो पनि नाक काट भनेर लाम बसेर गोरखाली फौज सामु नाक कटाउन गएको होला भनेर पत्याउनेहरु कस्ता होलान् ? हैट् वाहियात भन्नु पर्दैन , तर भनेनन् ।
जर्ज पंचमको प्रशिद्ध भनाइ यो छ कि संसारका जुनसुकै देशका सेना संग लडाई गर्न सक्छु तर नेपाली सेना संग लडाई गर्ने भन्यो कि मुटु ठरर काँप्छ । त्यस्तै भने झैं पृथ्वीनारायण शाहका फौजलाई अरु भुरे टाकुरे संग लड्न सक्छु तर कीर्तिपुर संग लड्न सक्दिन भन्ने जस्तो उखान बनी सकेको सर्वविदित छ । न त गोरखाली फौज कीर्तिपुरे जनताको सामु जान सक्छ न त कीर्तिपुरे जनता आफनो नाक काट भनी उनीहरुको सामु लुरुलुरु जान्छ । यसप्रकारको असंभव र अस्वाभाविक कुरालाई महत्व दिएर कत्तिन बुज्रुक बन्दै बहस चलाउंनुमा नेपालका बरिष्ठ इतिहासकार भनाउंदा व्यक्तिहरु स्वयं अघि सर्दै आइरहेको देखिनु भनेको साँच्चै नेपालीकोशिर निहुराउने गरी लाजमर्दो कुरा हो ।
कीर्तिपुरको पहिलो लडाई
जतिवेला गोरखाका राजा पृथ्वीनारायण शाहका सेना कीर्तिपुर हान्नको लागि तम्सिए । त्यतिवेला कीर्तिपुरमा धेरै जनसंख्या नै थिएन त्यहि भएर सजिलै हाटहूट पारेर लिन सकिएला भन्ने सोच पृथ्वीनारायण शाहको थियो । काजी कालुपाँडेले भौगोलिक दृष्टिले कीर्तिपुरलाई राम्रो बुझन सकिएकै छैन । अर्को कुरो उपत्यकाका तीनै राज्य फुटेको अवस्था पनि छैन । बाह्य आक्रमण हुंदा तीनवटै राज्य मिले भने संभव हुने छैन भनी हरिवंश उपाध्यायले सल्लाह पनि दिइरहेका थिए । काजी कालुपाँडेको पनि यही राय थियो । अतः हतारमा निर्णय गर्दा उल्टो हानी आफैलाई होला ,त्यसैले लडाई गर्ने बेला अलिकति भएको छैन भनी सल्लाह दिएका थिए । काजीको यो सल्लाह राजाले ठाडै इन्कार गरी कीर्तिपुर हान्ने हतार गरी निर्णय गरे ।
राजाको योजिद्दी पनको अगाडि काजीको केही सीप चलेन । भनिन्छ लडाइंमा मरिएला भन्ने डरलागेको भए भैगो सेनाको नेतृत्व राजाले म आफै लिउंला भनेको हुनाले पनि कालुपाँडेलाई बाध्यता आइ प¥यो तव राजाको पछि लाग्नै परेको हो । तात्कालिक राज ज्योतिष कुलानन्द ढकालले पनि लडाइ गर्ने राम्रो साइत छैन भन्दा पनि नमानेर बालकृष्ण जैसीलाई साइत हेराएर १२०० को फोज लिएर दहचोकबाट मिति १७५७ मे मा कीर्तिपुर माथि आक्रमण गरे ।
यता गोरखाली फौज दहचोक सम्म आइसकेकोले कान्तिपुरको राजा जयप्रकाश मल्ल पाटनका विश्वजित मल्ल र भक्तपुरका रणजीत मल्ल तत्कालीन यी तीनै राज्यले ३००० हजारको फौज तैनाथ गरी राखेका थिए । गोरखाली फौज बल्खु खोला किनारसम्म पुग्ना साथ ६ घण्टासम्म त्यहीं घमासान युद्ध भयो । त्यस युद्धमा गोरखाली फौज ४०० जना मारिए । स्वयं बीर सेनापति काजी कालुपाँडेले पनि त्यही लडाईंमा बीरगति प्राप्त गरे । यो अवस्था टाढैबाट हेरीरहेका राजा पृथ्वीनारायण शाह स्वयं भाग्न खोज्दा मल्ल फौजको घेरामा परिसकेका थिए । झण्डै एक जना कीर्तिपुरको युवकले पृथ्वीनारायण शाहलाई मार्न लाग्दा राजालाई मार्नु हुंदैन राजहत्याको पाप लाग्छ भनी अर्कोले छेक्दा ज्यान जोगाइ भाग्न सफल भएको भन्ने घटनाको वर्णन इतिहासमा पाइन्छ ।
परिणाम
कीर्तिपुरको पहिलो लडाईमा पृथ्वीनारायण शाहको ठूलो नोक्सानी भयो । त्यसपछि तीन वर्ष सम्म कीर्तिपुरमाथि आक्रमण गर्ने आँट आएन । त्यही अवधिमा सैनिक संगठन , तिव्वत सित व्यापार विस्तार र हतियार संकलन गर्ने कार्यमा बिताए । सोही क्रममा कालुपाँडको ठाउंमा उनकै छोरा वंशराज पाँडे नियुक्त गरे भने सिरानचोकको युद्धमा मारिएका शिवरामसिंह वश्न्यातको ठाउमा उनकै छोरा केहरसिंह वश्न्यातलाई नियुक्त गरे । काठमाडौं उपत्यकालाई नाकाबन्दी गर्दै जाने नीति अवलम्वन गर्न थाले ।
यहाँ लेखिएका इतिहासलाई अलि निष्पक्ष भएर नियाल्ने हो भने युद्ध भनेको जाइ लाग्ने पक्ष र सामना गर्ने पक्ष यी दुई ले एक अर्कोलाई शत्रुको नजरले नै हेरिने हो । यहाँ गोरखाली फौजलाई कीर्तिपुरले परास्त गरेकै हो । तर इतिहास लेख्नेले कीर्तिपुरको पक्षधर भइ लेखिएको छैन । यसको मतलव हरुवाहरुको पक्ष लिएर मात्र लेखिएको देखिन्छ ।
कीर्तिपुरको दोस्रो लडाई
ई.१७६४ आश्विनमा पृथ्वीनारायण शाहका भाई सूरप्रताप शाहको नेतृत्वमा गोरखाली फौजले पुनः दोस्रो पटक कीर्तिपुरमा आक्रमण गरे । यस अघि उपत्यकाका पूर्वी भेक धुलिखेल,चौकोट,पनौती, खड्पु, बनेपा, रानीचोक साँगा नाला,फर्पिंग, चोभार, पाँगा लगायत क्षेत्र गोरखालीले आफ्नो हातपारी सकेका थिए । उपत्यकाका तीन राजाहरु बीच पनि आपसी द्वेष बढीरहेको महसूस गरिरहेका थिए । त्यतिवेला सम्म मकवानपुर पनि जितीसकेका थिए भने मीरकासिमको नेतृत्वमा आएको बंगाली फौजलाई पनि परास्त गरी आधुनिक हतियार समेत संचय गर्न सफल भइसकेको हुनाले कीर्तिपुर अव त सहजै हात पार्न सकिएला भन्ने अठोट गरी आक्रमण गर्ने निर्णय गरे ।
परिणाम
कीर्तिपुरको दोस्रो लडाईमा पनि गोरखाली फौजको नराम्रो हार भयो । पछि मूल्यांकन गर्दा सूरप्रताप शाहको अपरिपक्व निर्णयका कारण हार भएको निष्कर्ष निकाले । साथसाथै कीर्तिपुरलाई लडाईमा हराउन असंभव नै हो भन्ने पनि ठहराए । यसको मुख्य रहस्य भनेको गढ किल्ला मजबूत थियो । हात हतियार भन्दा पनि ढुंगा ईंटा जम्मा पारेर बालक महिला सवैले ढुंगाले हानेर पनि शत्रु हराउन सकिन्थ्यो । अन्तिममा अरु उपाय छैन काजीहरुको छोराहरुलाई अपहरण गरी डकैटीको नीति अपनाएर कीर्तिपुर हात पार्ने दाउ सोचे ।
कीर्तिपुर माथि कव्जा
कीर्तिपुरमा पहिलो र दोस्रो पटक भएको आक्रमणमा दुवै पक्षका बीच भिडन्त भएको हो र यसलाई लडाई नै भनिन्छ । तर तेस्रो पटकको लडाईलाई लडाई भनिन्दैन । त्यो एक किसिमको डकैटी मात्र हो । इतिहास लेख्नेहरुले यसबारे जेसुकै लेखेको होउन् वास्तवमा यो गोरखालीहरुको कायरताको परिचायक हो । किनभने पछाडि बाट गोली हान्ने लाई बहादुर भनिंदैन भनेझैं गोरखालीहरुले काजीहरुको सन्तानलाई मारी दिने धम्की दिएकोले साँच्चै त्यस्तै गर्ने पो होकि भनी इं १७६६ मार्च १२ का दिन राती काजीहरुले कीर्तिपुरको ढोका खोली दिए । बिहान उठ्दा त कीर्तिपुर गोरखाली फौजको कव्जामा परीसकेको देखे । लडाई गरे बिना नै कीर्तिपुर गोरखालीको अधिनमा गएको देखेर कीर्तिपुरबासीहरु अचम्ममा परे साथै काजीहरुको त्यो लाछिपन देखेर जनतामा अनौठो घृणा उत्पन्न भए ।
परिणाम
कीर्तिपुरे जनताको वीरताको गौरवमय ख्यातीलाई अत्यन्त लज्जास्पद ढंगले मेटाइ दिनुमा तत्कालीन काजीहरु मुख्य दोषी थिए । काजीहरु प्रति बिद्रोह गरी घरघरबाट जनताबाहिर निस्केपछि गोरखालीहरु टुलुटुलु मात्र हेरेर बसे काजीहरुलाई घरघरबाट थुतेर बाहिर ल्याइ पाता कसी शहर घुमाए । त्यसबेलाको जनअदालतले काजी र उनका खलकमा महिला बृद्ध र बालक बाहेक सवैको नाक काटे । यसरी कीर्तिपुरको इज्जतलाई माटोमा मिलाउने गद्दारी जुन काजीहरुले गरेकोले जनअदालतको फैसला अनुसार काजी खलकले नाक कटाई बस्नु परेको थियो ।
केपुचिन पादरीहरुलाई देश निकाला
मल्लकालमा राजा प्रतापमल्लको पालामा केपुचिन पादरीहरु नेपाल उपत्यका भित्र छिरेका थिए । उनीहरुले इसाइ धर्मको प्रचारको आडमा व्यापार र व्यापारको आडमा विस्तारविस्तारै राजनीतिक स्वार्थ सिद्ध गर्ने दाउमा थिए । जसरी भारतमा राजनीतिक हस्तक्षेप गरेका थिए त्यही नीति नेपालमा पनि लिंदै आएको प्रत्यक्ष देखी रहेका थिए । हुंदा हुंदा गोरखाली बिरुद्ध अंग्रेजी फौज आएर लडाई गर्न आएकोले पृथ्वीनारायण शाहले उपत्यका विजय पश्चात् आफनो स्थिति अलि सुदृढ भइसकेपछि इसाइहरुलाई उपत्यका खाली गर्नु भनी आदेश दिए । इसाइ धर्मका प्रचारक केपुचिनहरु आफना अनुयायीहरु सहित लिएर भारत तिर पलायन हुनु प¥यो ।
केपुचिन पादरीहरु त्यसरी नेपालबाट देश निकाला हुनु परे पछि त्यो रीशको बदला पृथ्वीनारायण शाह सित कसरी लिने भन्ने दाउमा थिए । पृथ्वीनारायण शाहको देहान्त पछि अंग्रेज र त्यसका समर्थकहरुले कीर्तिपुरको नाक पृथ्वीनारायण शाहले काट्न लगाएको भनी एउटाको दोषको टोपी अर्कोलाई लगाई दुष्प्रचार गर्ने काम सर्वप्रथम उनीहरुले गरेका थिए । कालान्तरमा केपुचिन पादरीका समर्थकहरुले कीर्तिपुरेको नाक काट्ने कुकृत्य दोष जति पृथ्वीनारायण शाहमाथि थोपरिन गए । पृथ्वीनारायण शाहको देहान्त भएको धेरै वर्ष पछि आएर मात्र मरेको बाघको जुंगा ताने सरि त्यस्तो दोषारोपन गरिएको हो । वास्तवमा शाहवंशीय परम्परामा आफनो विजित देशका जनतालाई प्रतिशोध साध्ने काम कहिल्यै भएको थिएन । त्यसकारण नाक काटेको दोष बृथामा पृथ्वीनारायण शाह माथि लगाउनुको कुनै तूक छैन ।
आफैमा अन्तरविरोध कुरा
जो जसले जे भने तापनि कीर्तिपुरेको नाक काटेको घटनाको दोष विदेशी लेखकले पृथ्वीनारायण शाहलाई दिन खोज्नुको कारण इसाइहरुलाई यहाँबाट निकाला गरेको प्रतिशोध मात्र हो भन्ने स्पष्ट छ । पछि यही कुरालाई अनेकौं मलजल गर्ने काम भाषा वंशावली राजभोगमाला जस्ता वंशावलीमा पनि गरिए । तर यी सवैलाई अध्ययन गर्ने हो भने ती बयान भित्र नै एकनास कुरा छैन । ललितावल्लभको कवितामा पनि कुरा गरिए तापनि पृथ्वीनारायण शाहले गरेको भनिएको छैन । तत्कालीन पादरी माइकेल एंजलो थिए यिनी सूरप्रताप शाहको उपचार गर्ने व्यक्ति पनि भनिएका छन् । उनकै भनाइ हेर्दा पनि सूरप्रताप शाह को आँखा फुटेको त्यसको उपचार गर्ने माइकेल एंजलोको भनाइमा कीर्तिपुरेको नाक काटेर प्रतिशोध लिने व्यक्ति सूरप्रताप शाह थिए भनेका छन् । कसैले लेखे कि नाक काटेर थुपार्दा १७ धार्नी पुगेको भन्छ भने महिला वालक बृद्ध बाहेकको संख्या कीर्तिपुरमा जम्मा १००० छन् त्यसमा ८६५ जनाको नाक काटेको भन्नेहरु पनि देखिए । फेरि पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुलाई यदि आत्म समर्पण गरेको खण्डमा कुनै प्रतिशोध लिइने छैन भनी सन्देश पठाएका थिए भन्नेहरु पनि छन् । काजीहरुले कीर्तिपुरको ढोका खोली दिनु भनेको एक प्रकारले आत्मसमर्पण गरे जस्तै हो । तव प्रतिशोध लिनुपर्ने किन ? यस्ता अनकोै अन्तर विरोधाभास कुरा धेरै छन् । त्यसैले विषयलाई गंभीर भएर अध्ययन कसैले पनि गरेको छैन । केवल विदेशी लेखकहरुको प्रचारको पछिपछि लागेको सिवाय अरु केही होइन ।
यथार्थमा काजीहरुले आफनो व्यक्तिगत स्वार्थ हेरेर कीर्तिपुरेहरुको स्वाभिमान मान मर्दन गराइ दिएकोले ती काजीहरुलाई जनतालेसजाय दिएकोले नाक काटिनु परेको हो । त्यहाँ १७ धार्नीको कुरा ८६५ जनाको काटेको कुरा यी सवै फजुलका कुरा हुन् । सवभन्दा आश्चर्यको कुरा नेपालको इतिहासमा संशोधन नगरि नहुने कुराहरु धेरै छन् । त्यतातिर ध्यान नदिई नाक काटेको कुरा मात्र आकास पाताल गरिरहनु पर्ने जरुरी बिल्कूल होइन ।
निष्कर्ष
गोरखाली सेनालाई पटक पटक धूलो चटाउन सक्ने खूवी कीर्तिपुरको बाहेक अरु कसैको थिएन । वास्तवमा कीर्तिपुरेको ठाडो नाक भनेकै यही खूबी थियो । कीर्तिपुरलाई गोर्खालीले लिन सक्ने संभावना बिल्कूलै थिएन । तर त्यस्तो कठीन प्राय रहेको ठाउंलाई गोरखालीहरुले षडयन्त्रको तवरले सजिलै लिएको देख्दा कीर्तिपुरेहरुले आफनो आत्मसम्मानमा धक्का लागेको महसूस गरे । आत्मसम्मानलाई नेपालीले नाक संग तुलना गर्ने चलन अद्यापि छ । कसैको इज्जत गएको देखियो भने उसको त नाकै भाँचियो भन्ने चलन छ । आज भन्दा चालीस पचास वर्ष अघि रेडियो नेपालमा घन्कीने गरेको एउटा लोक गीतको बोल प्रायले सुनेकै हुनुपर्छ।
साइली र माइली पोइल गएछन् गाउंघर नै सुन्य पारेर
हामीलाई झुक्याइ भागे छन् बाउ बाजेको नाकै काटेर
यो गीतको बोलमा नाकै काटेर भनेको साँच्चै बाउ बाजेको नाक काटेको अर्थ होइन कि बाउ बाजेको इज्जत गयो भन्ने अर्थमा हो । हरेक दैनिक व्यवहारमा इज्जतलाई नाक संग तुलना गर्ने गरेको पाइन्छ । वास्तवमा भएको यथार्थ यही नै हो ।
पृथ्वी फुटयो भनेर दगुराइयो भन्दैमा दगुर्ने तिर होइन । पृथ्वी कसरी फुट्छ वाहियात भन्न छोडेर दगुर्न मै तल्लिन देखिनु भनेको बुद्धिमानी होइन भने झैं गोरखाली फौजलाई दुईदुई चोटी आच्छुआच्छु पार्न सक्ने वीर एवं बहादुर कीर्तिपुरे जनता कसैको अगाडि गइ मेरो पनि नाक काटि देउ भन्दै लाम लाग्न जाँदैन । यो वाहियात कुरा हो यसमा सत्यता छैन भन्ने स्पष्ट छ । घोकेका केही श्लोक कण्ठस्थ छ भनी देखाउंदैमा वाहवाह गरी उसैको लहैलहैमा लाग्नु बुद्धिमत्ता होइन । हरेक विवेकशील मानिसहरुमा विवेक भन्ने तत्व हुन्छ त्यही विवेक प्रयोग गरेर हरेक विषयको छ्यानविछ्यान गरी अध्ययन गरेर मात्र ग्रहण गर्नु पर्दछ , विचार गरौं ।
प्रतिक्रिया