×

देशमा स्थिरता, विकास र समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर कुदिरहेको छु- प्रचण्ड

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व महसुस भएको बताएका छन् । आज (मंगलबार) चितवनको मेगौलीमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिक उत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव–२०८१ लाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री हुँदाभन्दा बढी माया र सम्मान विपक्षी दलको नेता भएर अहिले जनतामा जाँदा पाइरहेको बताएका हुन् ।

‘मलाई यो पटक प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व महशुस भएको छ । जनताले मलाई प्रधानमन्त्री भएको बेलामा भन्दा बढी माया र सम्मान दिनुभएको छ,’– उनले भने ।

आफू नेतृत्वको तत्कालीन सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियान मन नपरेकै कारण सरकार ढालिएको उनले बताए । आफूले सुशासन, सामाजिक न्याय र अन्तर्राष्ट्रिय छवि उज्वल बनाउने प्रयत्न गरेको उनले सुनाए ।

‘एकथरी मान्छेहरुलाई सुशासनको अभियान मन परेन । सामाजिक न्यायको अभियान मन परेन । अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि उज्वल बनाउन खेलेको भूमिका मन परेन र म अहिले जनताको बीचमा छु । म खुसी नै छु । मैले फेरि एउटा सपना बोकेर देशमा स्थिरता, विकास र समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर म कुदिरहेकै छु,’– उनले भने ।

 समापन समारोहलाई सम्बोधन गर्दै उनले विकास गर्नै सक्दैनन् भन्ने निरासाजनक भाष्य रहेको अवस्थाबाट उठेर भरतपुर महानगरपालिकाले सबै क्षेत्रमा विकास गरेको बताए।

अध्यक्ष प्रचण्डले भने, ‘नेत्तृत्वले इमान्दारीताका साथ गर्न चाह्यो भने जनताको सेवाप्रति, जनताको विकासको आवश्यकता र आकांक्षाप्रति इमान्दर भएर गर्न चाह्यो भने धेरै काम गर्न सकिन्छ भन्ने एउटा राम्रो उदाहरण भरतपुरमा प्रस्तुत भएको छ।’ उनले भरतपुरको सिको देशभरिका सबै तहले तहले गर्नुपर्ने बताए।

अध्यक्ष प्रचण्डले भने, ‘प्रकृतिले दिएको जल, जमिन, जडीबुटी, हिमाल, पहाड र तराई सबै पर्यटकीयस्थल हो। त्यसको निम्ति भौतिक पूर्वाधार जनचेतना र रचनात्मक कार्यक्रमको विकास भने नेत्तृवले गर्नुपर्ने हुन्छ। यो सबै चितवन तथा भरतपुरमा रहेको छ।’

भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर तथा मेघौलीलाई पर्यटनबाट विकास गर्नका लागि सुरक्षित सहरको रूपमा विकास गर्दै आइएको बताइन्। उनले यहाँ आउनको लागि भौतिक बाटोघाटोको काम सकिएको भन्दै अहिले आधा घण्टामा भरतपुरको जुनसुकै स्थानमा पुग्न सकिने बताइन्। प्रमुख दाहालले अहिले मेघौली विमानस्थल सञ्चालनको कामभन्दा पनि यहाँको गोलाघाटमा पुल निर्माणको आवश्यकता बढी रहेको उल्लेख गरिन्।

मङ्गलबार १६ पुस २०८१ १०:१३ PM मा प्रकाशित

प्रतिक्रिया