कांग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवसमा,संविधान निर्माणमा संलग्न दलका शीर्ष नेताहरुलाई मात्र निम्तो

    images

    १५ पुस, काठमाडौं । नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस राजनीतिक दलका शीर्ष नेताहरु भेला पारेर मनाउने भएको छ । 

    विक्रम संवत ०३३ साल १६ पुसमा कांग्रेसका संस्थापक नेता वीपी कोइरालासहितका नेताहरु स्वदेश फर्केको सम्झनामा यो दिवस मनाइने गरिन्छ।

     यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर लगायतलाई निमन्त्रणा पत्र पठाइएको छ ।

    सोमबार हुने मिलमिलाप दिवसको कार्यक्रमका लागि संविधान निर्माणमा संलग्न दलका शीर्ष नेताहरुलाई मात्र बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलल जानकारी दिए ।

    यसपटक राष्ट्रिय एकता र मेलमिलाप दिवस फरक तरिकाले मनाउने कांग्रेसले निर्णय गरेको थियो । साझा मुद्दाहरुमा सरकार र प्रतिपक्ष नहुने उल्लेख गर्दै महामन्त्री गगन थापाले संविधान पक्षधर शक्तिको थप एकता आवश्यक रहेकाले मेलमिलाप फरक तरिकाले मनाउन लागिएको जानकारी दिए । ‘राजनीतिक दल विच केही मुद्दामा प्रतिस्पर्धा हुन्छ । केही कुरामा राष्ट्रिय दृष्टिकोण चाहिन्छ,’ महामन्त्री गगन थापाले भने, ‘संविधान बनायौं, केही कुरा अड्किएर बसेका छन् । संविधान कार्यान्वयनमा अड्किएका विषयलाई टुंग्याउन को सत्तापक्ष र को प्रतिपक्षले अर्थ राख्दैन महामन्त्री  थापाले भने।

    आठ वर्षको भारत प्रवासपछि कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए। 

     

    आइतबार​ १५ पुस २०८० ०१:५८ PM मा प्रकाशित

    प्रतिक्रिया