×

इजरायली आक्रमणमा हुथी विद्रोहीका प्रधानमन्त्रीको मृत्यु भएको दाबी

images

काठमाडौँ । यमनका हुथी विद्रोहीहरूले इजरायली आक्रमणमा आफ्ना प्रधानमन्त्री अहमद गालिब अल-राहवीको मृत्यु भएको दाबी गरेका छन् ।

हुथी विद्रोहीहरूले गाजा युद्ध सुरु भएदेखि यो उनीहरूको सबैभन्दा ठूलो क्षति भएको बताएका छन् । यस अवधिमा वरिष्ठ अधिकारीको मृत्युको यो पहिलो घटना हो । समाचार एजेन्सी रोयटर्सले हुथी विद्रोहीहरूको समाचार एजेन्सीलाई उद्धृत गर्दै समूहको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल-मशतले शनिबार घोषणा गरेको बताएका छन् । राजधानी सानामा बिहीबार भएको आक्रमणमा अल-राहवीसहित अन्य धेरैको मृत्यु भएको र कैयौं घाइते भएको भनिएको छ ।

एएफपीका अनुसार अल-राहवीलाई अन्तिम पटक बुधबार सानामा सार्वजनिक कार्यक्रममा देखिएको थियो । 

हुथी विद्रोहीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ- 'हामी योद्धा अहमद गालिब नासिर अल-राहवीको मृत्युको घोषणा गर्दछौं । उनको मृत्यु उनका धेरै सहकर्मीहरूसँगै भएको छ। उनलाई इजरायलले निशाना बनाएको थियो । विज्ञप्तिमा आक्रमणमा घाइते भएका धेरै सहकर्मीहरूको अस्पतालमा उपचार भइरहेको उल्लेख गरिएको छ ।

यसअघि इजरायलले सानामा इरान समर्थित हुथी समूहका प्रमुख, रक्षामन्त्री र अन्य अधिकारीहरूलाई निशाना बनाएको बताएको थियो ।

अहमद अल-राहवी करिब एक वर्षअघि प्रधानमन्त्री बनेका थिए, तर सरकारको बागडोर उनका उपप्रधानमन्त्री मोहम्मद मुफ्ताहको हातमा थियो । शनिबार मुफ्ताहलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ ।

आइतबार​ १५ भदौ २०८२ ०९:३९ AM मा प्रकाशित

प्रतिक्रिया