×

लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राख्यो : वर्षमान पुन

images

प्युठान । नेकपा माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन ‘अनन्त’ले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेको बताएका छन् । सोमबार प्युठानको जुम्रीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले अनुसन्धान भन्दै सरकारले विभिन्न जिल्लामा पुर्‍याउने काम गरेकोप्रति उनले आपत्ति जनाए ।

‘रवि लामिछानेमाथि छानविन गर्ने कुरामा हाम्रो भन्नु केही छैन,’ उनले भने, ‘प्रक्रिया नपुर्‍याइ मध्यरातमा उठाएर हिंडाउने कुरा नागरिक अधिकार विपरितको कुरा हो ।’ राजनीतिक पूर्वाग्रह राखेर नै अझै रविलाई सरकारले धेरै जिल्ला घुमाउने तयारी गरेको उनले बताए । ‘हामीले न्यायिक प्रक्रिया रोक्न खोजका होइनौं, यो प्रक्रिया गलत छ,’ उनले भने ।

साथै अधिवेशनमा बोल्दै उनले भने, ‘देउवा बालकोट पुगेर नक्कली भुटानी शरणार्थी काण्डमा ‘जसरी हुन्छ बचाउनुस् प्रधानमन्त्री खानुस् भनेर ओलीलाई अफर गरे, बेचन झाहरु पक्राउ परेपछि जसरी हुन्छ हामीलाई बचाउनु प्रधानमन्त्री लिनु भन्ने अफर भयो । बालकोटमा पनि एउटा तरंग भइरहेको थियो । त्यसपछि रातारात गठबन्धन बन्यो । सुशासनको अभियान कमजोर बनाउन, बिचौलियाहरूको डिजाइनमा सरकार बनाए ।’

पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले सरकार छोड्दा आफूहरूलाई कुनै चिन्ता नभएको र ८४ सालसम्म माओवादी सरकारमा पनि नजाने बताए । 

सुशासनको विपक्षमा गठबन्धन र सरकार बनाएकै कारण उपनिर्वाचनमा जनताले कांग्रेस–एमालेलाई दण्डित गरेको र आगामी चुनावमा यो अझ बढ्ने उनले दाबी गरेका छन् । पत्रकार महासंघको चुनावमा देखिएको जनमतले पनि माओवादीप्रति आम जनता तथा बौद्धिक वर्गमा समेत आकर्षण देखिएको उनले विश्लेषण सुनाए ।

सोमबार १५ पुस २०८१ ०९:०८ PM मा प्रकाशित

प्रतिक्रिया