मेरो आंगनबाट बाहिर निस्कने धेरै बाटाहरु छन,
र, फर्किने सिर्फ एउटा मात्रै।
जस्तै,
छोरीको, स्कुलसम्म जाने बाटो
श्रीमती, रिसाएर माइतीसम्म जाने बाटो
आमाको, घर नजिकैको मन्दिर सम्म जाने बाटो।
मेरो ,
यो बाटो हुँदै पर(परसम्म जाने अर्को बाटो छुने बाटो।
बा,
बा, का धेरै बाटाहरु छन,
भोकको धोक्रो बोकेर हाटबजारसम्म जाने बाटो
त्रास लिएर साहुकारको दैलोसम्म जाने बाटो,
बच्चा हरुको सानो खुसिका लागि,
आफ्नो हांसो बिर्सिजाने बाटो,
धेरै मन दुखेको बेलामा,
एक्लै आँसु झार्न एकान्तमा जाने बाटो।
अरुपन धेरै छन होलान्
जो, मैले नदेखेका बा का अरु(अरु बटाहरु
जो बा मलाइ कहिल्यै देखाउन चाहदैनन।
जुन बाटोमा मेरो छोराले कहिल्यै टेक्नु नपरोस भन्ने बाटाहरु।।
जो बाटोको चुभन
बा का खिल परेका नाङा पैताला मात्रै सहन सक्छन।
यी सप्पै र सप्पैथरी बाटाहरु मध्य
एउटा बाटो
जो बा मलाइ सधै-सधै देखाइ रहन्छन।
............ घर फर्किने बाटो।
प्रतिक्रिया