×

तीजमा ‘हुफर, डिस्को’ र साडीमा ‘सेल्फी पोज’

images

हुनत शहर बजारमा तीजको रौनक सुरु भएको महिना दिन हुन लाग्यो । गाउँघरतिर पनि हप्तादिनदेखि तीजको माहोल तातेको छ । साउन महिनाभरी भगवान शिवको आराधना गरेर ब्रत बसेसँगै हातमा लगाइने हरिया रंङ्गका चुरा, हरियो पोते, मेहेन्दी र राता पहिरनले तीज आएको प्रष्ट पार्छ ।

गाउँघरतिर साँझपख मादलको घिन्ताङ र तीजको भाकाले हिन्दु नारीहरुलाई प्रफूल्लित तुल्याउने गर्छ । घरको कामले थिचिएका महिलाहरुका लागी तीज एक उल्लासको पर्व हुने गर्छ । कीनकी कतिपय महिलाहरुले माइतीघर जानका लागी तीज नै पर्खनु पर्ने बाध्यता छ ।

आफ्नो जन्म घर, आमाबुबा, भाइबहिनी, अन्य नातागोता र साथीसंगीलाई चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रुपमा तीज पर्वलाई लिइन्छ । यस पर्वमा विवाह बन्धनमा बाँधिएका चेलीबेटी माईती घरमा आउने र आफ्ना मनको भावना साटासाट गर्ने गर्दछन् ।

महिलाहरुलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झना कम गर्न यो पर्वले ठुलो भुमिका खेलेको हुन्छ । व्यस्तताका कारण माइत घर पुग्न नसकेका महिलाहरुको माइत पुग्ने ठूलो अवसरका रुपमा तीजलाई लिने गर्छन ।

माइतघर पुगेका चेलीहरु धार्मिक विधी अनुसार आफन्त र साथीसंगी मिलेर पंचमी पुजा गर्ने, मिठो मसिनो बनाएर खाने र रमाइलो गर्ने प्रचलन छ । हुनत तीज हिन्दु नारीहरुको पौराणीक पर्वका रुपमा मानिदै आएको छ । तर पौराणीय यो पर्वले विस्तारै रुप–रंग बदल्दै गइरहेको छ । धार्मिक विधीमा फेरबदल आउन थालेको छ । साथै पर्व मनाउने शैली र तौर तरीकामा परिवर्तन आउन थालेको छ । 

नेपालमा चौबन्दी चोलो र साडीलाई भद्र पोशाकका रुपमा पहिरिने गरिन्छ । नेपाली समाजमा पहिले पहिले साडीलाई महिलाहरुको लाज ढाक्ने उपयुक्त पहिरनको रुपमा लिइन्थ्यो । साडीले धपक्कै शरीर ढाकेपछि महिलालाई असल चरित्र भएकीमा गनिन्थ्यो । तर पछिल्लो समयमा साडी पहिरन गर्ने तरीका बदलिन थालेको छ । कुनै बेला टे«डिसनल आउटफिट साडी यतिबेला अन्यन्त सेक्सी र ग्ल्याम्मरस बन्न थालेको छ । तीजका बेला आधुनिक महिलाहरुले लगाउने साडीको स्टाइल हेर्दा उहिले लगाइने चौबन्दी चोली र साडी प्रतिको मोह घटदै गएको पाइन्छ ।

बारुले कम्मरमा गज्जबको मुजा बनाएर अड्याइएको साडीमाथि नाभी नदेखिए र पिठ्यूमा खुल्ला नभएको व्लाउस नलगाए हिजोआज साडीको गरिमा नै घटन थालेको छ । साडी लगाउँदा नाभी र पिठ्यू देखाउने होडबाजी चल्न थालेको छ । हिन्दु धर्मावलम्बी नारीहरुलाई लाज ढाक्न मात्र होइन परम्परा धान्न पनि साडीको पहिरन अनिवार्य मानिन्छ ।

तर पछिल्लो समयमा साडी लगाउने तौरतरिका बदलिएको छ । हिन्दु नारीहरुले साउन महिनामा हरियो, तीज र दशैंमा रातो साडी लगाउने गर्छन । हुनत हिन्दु नारीहरुको सौन्दर्यको प्रतिकका रुपमा साडी र गरगहनालाई लिने गरिन्छ । पछिल्लो समयमा युनिक र स्टाइलिस साडीले महिलाहरुलाई सेक्सी र ग्ल्याम्मरस देखिन थालेका छन् । 

अस्सीको दशकमा बलिउडका नायिकाहरुले साडी लगाउने तरिका परिवर्तन गरेसँगै नेपाली गाउँ शहरमा पनि तरिका बदलिएको हो । हुन पनि बलिउडका नायिकाहरु साडी पहिरनका मामला ट्रेड सेन्टरकै रुपमा गनिन्छन । बलिउडमा ५० को दशकदेखि साडीको रंग रुप र स्टाइल परिवर्तन हुँदै आएको पाइन्छ ।

५० को दशकमा बैजयन्ति माला, माला सिन्हा लगायतका अभिनेतृहरु सिम्पल साडीमा सिल्भर स्क्रिनमा देखा परेका थिए । आधुनिक तथा डिजिटल युगको सुरुवातसँगै साडीको स्टाइल र लुक्स परिवर्तन भएर गएको छ । बलिउड अभिनेतृहरु ऐश्वर्या राय, काजोल, रानी मुखर्जी हुदै विन्द्यया वालन, करिना कपुर, विपासा बसु, दिपिका पादुकोडले आफनो चलचित्रमा पहिरिएको साडीको स्टाइलमा नेपाली नारीहरु रङ्गिरहेका भेटिन्छन् । 

तीजका भाकामा आधारित कतिपय म्यूजिक भिडियोमा देखिएको साडीको स्टाइलले नेपाली नारीहरुलाई पूर्णरुपमा ग्ल्याम्मरस बनाएको छ । तीजका अवसरमा कतिपय बुटिकहरुमा साडी लगाउने तरिका सिक्न पाइन्छ । जसले नेपाली महिलाहरुलाई सहज बनाएको छ । 

ट्रेडिसनल  साडीहरु पनि विकिनी व्लाउजमा लगाए पछि बोल्ड र ग्लाम्मरस बन्ने गर्छ । नेट जालीदार तथा हलुका साडीहरु साथै बनारसी साडी नेपाली महिलाहरुका रोजाइ हुन । त्यस वाहेक सिल्क, सिफोन, नेट, लेहेंगा, जर्जट साडी पनि नेपाली नारीहरुका लागी छनोटमा पर्छन । हिन्दु महिलाहरुले भाकल पुरा गर्न मन्दिरमा साडी चढाउने प्रचलन पनि छ । यसबर्षको तीजमा सजिएका कतिपय नारीहरुले साडी लगाउने तौरतरीकाले पनि साडीलाई ग्ल्याम्मर, बोल्ट फेसनका रुपमा स्विकारेको पाइन्छ । युवतीहरु भन्दा पनि उमेर ढल्केका महिलाहरुले साडी लगाउने तरीकालाई परिवर्तन गर्दै लगिरहेका छन । वयस्क महिलाहरु साडीमा धेरै सेक्सी र बोल्ड देखिन थालेका छन् । 

मङ्गलबार १४ भदौ २०७९ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया