×

संविधान संशोधन हुने अवस्था छ : देउवा

images

काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको जिकिर गरे । उनले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पारे ।

सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताए । उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताए ।

संविधानका आधारभूत कुराहरु संशोधन गर्न नमिले पनि अन्य कुरामा अझ राम्रो गर्नेगरी संशोधन गर्ने बताए । संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको उनको भनाई छ । अरु देशको तुलनामा अझ बढी प्रगतिशिल लोकतान्त्रिक समाज स्थापित गर्नुपर्ने बताए ।

समावेशीसहितको प्रजातन्त्र राखिएको छ । यसमा अझ हामीले राम्रोसँग अध्ययन गर्ने, यसमा अझ बढी राम्रो बनाउन सकिन्छ, साथसाथै संविधानको संशोधन हुनसक्ने अवस्था हो । त्यसकारण फण्डामेण्टल कुराहरुमा परिवर्तन हुन सक्दैनन् । त्यहाँ लेखिएको पनि छ । अहिले समावेशिताको आधारमा जो सबै नेपालीहरु अटाउने संविधान छ,’’ सभापति देउवाले भने, ‘‘त्यसका केही कमी कमजोरी छन् भने सच्याएर अघि बढाउनुपर्छ । महत्त्वपूर्ण कुरा प्रजातन्त्र र मानव अधिकार हो । मानव जातिले निर्वाध रुपमा आफ्नो अधिकार प्राप्त गर्न पाउनुपर्छ । डर, त्रास मुक्त देशको रुपमा स्थापित गराउनु पर्छ । अरु देशको तुलनामा अझ बढी भाइब्रेट डेमोक्रेसी सोसाइटी स्थापित गर्नुपर्छ ।’’

प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाइ जनताको अझ बढी समर्थन, विश्वास जित्न सक्नुपर्ने बताए । नेपाललाई गरिबी मुक्त गराउनुपर्ने र सबै लागेर काम गरे समावेशी नेपाल बन्ने बताए ।

शुक्रबार​ १४ भदौ २०८१ ०८:३१ PM मा प्रकाशित

प्रतिक्रिया