काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो । पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो ।
प्रज्ञा भवन परिसरमा एकता घोषणा कार्यक्रम भइरहेकोमा सादा पोषाकमा आएका प्रहरीले चौधरीलाई पक्राउ गरेका थिए । अहिले उनलाई प्रहरी परिसर काठमाडौं भद्रकालीमा राखिएको बताइएको छ । काठमाडौं प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज अधिकारीका अनुसार चौधरीलाई टीकापुर घटनाको सन्दर्भमा सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो । अहिले उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना हुँदा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो । सो घटनामा रेशमलाई तीनै तहको अदालतले दोषी ठहर गरेको थियो । टीकापुर घटनापछि पाँच वर्ष सजाय भोगेका चौधरीलाई २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
चौधरीको आममाफीविरुद्ध टीकापुर घटनाकी पीडित शारदा कडायतले सर्वोच्चमा रिट दायर गरेकी थिईन् । कडायत टीकापुर घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी श्रीमती हुन् । सो रिटमा सुनुवाई हुँदा सर्वोच्चले तत्कालका लागि थुनामा राख्नु भनी आदेश गरेकाले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार पठाइएको एसएसपी अधिकारीले बताए ।
२०७२ भदौमा टीकापुर काण्डका प्रमुख आरोपी चौधरीलाई अदालतले जन्मकैदको सजायँ सुनाएको थियो । तर राष्ट्रपतिबाट कैद मिनाहा पाएर उनी २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । तर आममाफीविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सो रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेका हुन् ।
सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा हिंसात्मक घटना भएको थियो । सो घटनामा परी तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
तर चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । कडायत टीकापुरमा भएको हिंसात्मक घटनामा मारिएका इन्स्पेक्टर केशव बोहराकी पत्नी हुन् । राष्ट्रपति कार्यालय, मन्त्रिपरिषद, गृह मन्त्रालय र रेशम चौधरीलाई विपक्षी बनाएर दायर गरिएको रिटमा सर्वोच्चले आममाफीको फैसला उल्टाइदिएपछि रेशम पक्राउ परेका हुन् ।
सर्वोच्चले योगराज ढकाल (रिगल) विरूद्धको मुद्दामा जघन्य अपराधमा आममाफी दिन नमिल्ने फैसला गरेको थियो। उक्त नजिरलाई टेकेर चौधरीलाई थुनामै राख्न सर्वोच्चको मुद्दा तथा रिट शाखाले पत्र पठाएको थियो। पत्र प्राप्त भएपछि जिल्ला प्रहरी परिसरले चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार बुझाइसकेको छ।
प्रतिक्रिया