काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन लोकतन्त्रविरोधी तत्वहरुले हाइज्याक गरेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानविन गर्नका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगलाई बयान दिँदै उनले प्रदर्शनमा व्यापक घुसपैठ भएको बताएका छन् ।
‘विहान माइतीघर मण्डलाबाट प्रदर्शन सुरु भयो । कयौं विद्यार्थी विद्यालय पोषाकमा नै थिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारीअनुसार शान्तिपूर्ण आन्दोलन हुन्छ भन्ने विश्वास आयोजकले दिलाएका थिए । तर, प्रदर्शनमा व्यापक घुसपैठ भयो । जेन–जीको प्रर्दशनलाई लोकतन्त्रविरोधी तत्वहरुले हाइज्याक गरे,’– उनले बयानका क्रममा भनेका छन् ।
संसद् भवन, नयाँ बानेश्वर परिसरमा व्यापक हिंसात्मक घटना भएपछि जेन–जी अगुवाहरुले सामाजिक सञ्जालमार्फत ‘हाम्रो आन्दोलन सफल भएको छ । यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदै छ । साथीहरु आफ्नो घर फर्किनुस्’ भनेको पनि पूर्व गृहमन्त्री लेखकले आयोगलाई स्मरण गराएका छन् ।
धमिलो पानीमा माछा मार्न चाहने तत्वले जेन–जीको भावनामाथि खेलेर सुनियोजित रुपमा प्रदर्शनलाई हिंसात्मक बनाएको पूर्व गृहमन्त्री लेखकले बयानका क्रममा उल्लेख गरेका छन् । पूर्व गृहमन्त्री लेखकले राजनीतिक नैतिकता सबैभन्दा मूल्यवान विषय रहेको स्मरण गराउँदै आफूले सो क्रममा नैतिकताको आधारमा राजीनामा दिएको पनि बताएका छन् ।
आयोगमा दिएको बयानमा लेखकले आन्दोलनको पृष्ठभूमि, त्यसबेलाको सुरक्षा व्यवस्था, आफूले लिएको नैतिक जिम्मेवारी र आयोगप्रतिको अपेक्षाबारे स्पष्ट पारेका छन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्रीका रुपमा आफूले सुरक्षाकर्मीलाई बल प्रयोग वा गोली चलाउन आदेश दिने कुनै कानुनी व्यवस्था नरहेको बताएका छन् ।
‘मन्त्रीले गोली चलाउनु वा दमन गर्नु भनेर आदेश दिन मिल्दैन । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा गोली प्रहार गर्न न त लिखित न त मौखिक आदेश दिइएको हो,’ उनले बयानमा उल्लेख गरेका छन् । यस्तो आदेश दिने कानुनी प्रावधान नै नभएको पनि उनले स्पष्ट पारेका छन् ।
राज्यका प्रमुख अङ्गहरूमाथिको आक्रमणलाई उनले लोकतन्त्र सिध्याउने सुनियोजित षड्यन्त्रको संज्ञा दिएका छन्। घटनामा युवाहरूको ज्यान गएपछि आफू मर्माहत भएर नैतिकताको आधारमा तत्काल राजीनामा दिएको उनले स्मरण गराएका छन्।
प्रतिक्रिया