×

नेपालमा डेंगुका तीन प्रकारका भाइरस सक्रिय

images

काठमाडौं ।  नेपालमा डेंगुका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ। डेंगुका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले बताएका छन् । विगत सात वर्षअघि भने सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सेरोटाइप–४ सक्रिय रहेका थिए। ‘भाइरसको जिन अध्ययन गर्दा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको छ’, उनले भने।

डा. दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताए। उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेंगु सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए। डेंगु सङ्क्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ। यस्तै देशभर २७ हजार एक सय ५३ जनामा डेंगु सङ्क्रमण देखिएको छ भने सङ्क्रमणको कारणले अहिलेसम्म ११ जनाको निधन भइसकेको छ।

सबैभन्दा बढी कास्कीमा सात हजार ८० जनामा डेंगु सङ्क्रमण देखिएको छ। पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस्’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्दछ। उपत्यकामा डेंगु सङ्क्रमण पाँच हजार सात सय ४८ जनामा देखिएको छ। काठमाडौं जिल्लामा चार हजार ६० जना, भक्तपुर ६ सय २८ र ललितपुर एक हजार ६० जनामा डेंगु सङ्क्रमण देखिएको छ।

वर्षाको बेला पानीका संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेंगुको सङ्क्रमण बढेको हो। डेंगु रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न निर्णय सरकारले गरेको छ।

मङ्गलबार १३ कात्तिक २०८१ ०७:४९ PM मा प्रकाशित

प्रतिक्रिया