×

क्राइम रिपोर्ट– ७ जनाको मृत्यु, घटनामा संलग्न १७ जना अभियुक्त पक्राउ, अनुसन्धान जारी

images

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सात जनाको मृत्यु भएको छ । घटनामा संलग्न १७ जना अभियुक्तहरूलाई पक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । 

दोलखामा सुन जस्तो देखिने पहेलो धातु ४ किलोग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बिगु गाउँपालिका–१ बस्ने २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङ रहेका छन् । 

बिगु गाउँपालिका–३ जामुने डेरा गरी बस्ने केशर तामाङसमेतले अवैध रूपमा तस्करी गरी ल्याएको सुन लुकाई–छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखा र ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरी टोलीले केशर बहादुर तामाङको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको धातु बरामद गरी घटनास्थल वरपरबाट केशर, पेम्बा र माधवलाई बुधबार पक्राउ गरेको हो । 

साथै थप अनुसन्धानको क्रममा संलग्नता खुल्न आएका नुर्वु छिरीङ र सुनमालालाई भिमेश्वर नगरपालिका–६ स्थित शुभकामना होटलबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।  

उनीहरूलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दामा जिल्ला अदालत दोलखाबाट ८ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

त्यस्तै कैलालीको गोदावरी नगरपालिका–९ सेहरी भन्ने गाउँस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–११ वेलादेवीपुर बस्ने ३५ वर्षीय हरिद्वारी रानालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

त्यसैगरी झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित बिर्तामोड नगरपालिका–८ बस्ने १९ वर्षीय बिवेक जवेगुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आईरहेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पर्साको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका–९ बिश्रामपुर बस्ने ४२ वर्षीय लोटन राउत र ४० वर्षीय देबलाल साह कलवार रहेका छन् । प्रहरी चौकी प्रसानीभाटाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

तनहुँको आबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४ सय ३५ ट्याब्लेटसहित पर्सा छिपरमाइ गाउँपालिका–२ जयमंगलपुर बस्ने २८ वर्षीय सुखलाल मुखियालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिप समेतबाट खटिएको प्रहरीले ग १ ख ००८९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त ट्याब्लेटसहित पक्राउ गरेको हो ।  

मोरङको केराबारी गाउँपालिका–१० सुनौलो चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ७ सय ७० मिलिग्रामसहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–१० बस्ने २३ वर्षीय बिजय मगर, २६ वर्षीय असिम देवान, ३३ वर्षीय असीम मगर र सोही गाउँपालिका–७ बस्ने २४ वर्षीय अबिसेक लिम्बु रहेका  छन् । 

लागूऔषध ओसारपसार तथा बिक्री वितरण भईरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङको जहदा गाउँपालिका–१ यादव टोलस्थित बाँसको घारीबाट बेबारीसे अवस्थामा राखिएको अवैध लागूऔषध गाँजा करिब ४ केजी बिहीबार साँझ प्रहरीले बरामद गरेको छ । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी तथा बुधनगर र अस्थायी प्रहरी पोष्ट भटडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

बर्दियाको १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका–९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिका–५ गोला घर भएका ५२ वर्षीय कृष्णकुमार दमाईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

दमाईले ती बालिकालाई विभिन्न समयमा पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

मोरङको १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल समेत दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झापाको दमक नगरपालिका–१ कुमाल चौकमा छुरा प्रहार हुँदा ईलाम चुलाचुली गाउँपालिका–३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बुको शुक्रबार बिहान मृत्यु भएको छ । 

दमक नगरपालिका–७ बस्ने २५ वर्षीय सनम राईले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका लिम्बुलाई तत्काल उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा अस्पताल पु‍र्याउनासाथ उनको मृत्यु भएको हो । 

घटना पश्चात् राई छुरा लिई फरार भएको र निजसँग वतन नखुलेका करिब २३ वर्षीय पुरूषसमेत रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले फरार व्यक्तिहरूको खोजी गर्नुका साथै घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–४ स्थित सडकममा लु ३९ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका–१४ पर्सावल बस्ने ३० वर्षीय हेम खवासको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल नवलपरासी पश्चिममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रूपन्देहीको सियारी गाउँपालिका–७ बनगाई बस्ने १८ वर्षीय राजेश यादवको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको छ । आफ्नै घरमा रहेको मोटर मर्मत गर्ने क्रममा विद्युतीय तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।  

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–७ उजेनी बस्ने ३५ वर्षीय जयप्रकाश यादवको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै घर अगाडि रहेको बिजुलीको पोलमा बालेको बत्ती निभाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पर्साको बिन्दबासीनी गाउँपालिका–२ झोगाई खोलाको डिलमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 

मोरङको सुन्दरहरैचा नगरपालिका–१ लक्ष्मीपुर टोल बस्ने ४१ वर्षीय गंगा सुवेदी सोही ठाउँस्थित खेतमा र सोही नगरपालिका–५ बुढिखोलामा सुनसरी धरान उपमहानगरपालिका–६ बस्ने ५५ वर्षीया सार्की माया राई बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

इलामको इलाम नगरपालिका–११ खुजुम्मे बस्ने ६२ वर्षीय भीमबहादुर जबेगु सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–६ थापाटार (लप्से) बस्ने घनश्याम गजुरेलको कटेरोमा बिहीबार साँझ लामखुट्टे धपाउन बालेको धुपबाट आगलागी हुँदा अन्नपात, काठ, जस्ता, भाडाबर्तन लगायतका समान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ जोगिनियाँ भागवती टोल बस्ने रोहित रामको घरमा शुक्रबार बिहान लामखुट्टे धपाउन बालेको धुपबाट आगलागी हुँदा घर, अन्नपात, लताकपडा, फर्निचर लगायतका सामान जलेर करिब ६ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौंको काठमाडौं महानगरपालिका–३२ स्थित निखिलेश्वर मन्दिर नजिक डेरा गरी बस्ने रामेछाप खाडादेबी गाउँपालिका–२ घर हुने शान्ता कार्कीको कोठाबाट कोही नभएको अवस्थामा तल्चा फोडी नगद २५ हजार रूपैयाँ र तिलहरी २ थान समेत गरी करिब १ लाख ३३ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार राति चोरी भएको छ । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

शुक्रबार​ १२ असोज २०८० ०५:१२ PM मा प्रकाशित

प्रतिक्रिया