धनगढी । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आगामी प्रधानमन्त्री आफू नभई शेरबहादुर देउवा नै बन्ने बताएकी छन् । आज धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले आरजु सम्भावित प्रधानमन्त्री भन्ने हल्ला भनेर टिप्पणी गरिन् ।परराष्ट्रमन्त्री राणा देउवाले देशमा बेथितिहरू बढ्दै जान थालेपछि राजनीतिको बाटो पछाडितिर जान्छ कि भन्ने पीरले दुई ठूला दल एक ठाउँमा उभिएको दाबी गरेकी छिन्।
उनले भनिन्, ‘बाहिर मेरो बारे जे जस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्री ज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको होला ।’ उनले कांग्रेस पार्टीभित्र थुप्रै नेताहरू प्रधानमन्त्रीका लागि योग्य भएको बताउँदै आफू त्यसको लाइनमा नभएको बताइन् ।
त्यस्तै परराष्ट्रमन्त्री देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छिन् । उनले भनिन्, ‘देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको छ । सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको सरकार बनेको हो । स्थिर सरकारकै लागि हामी मिलेका हौँ ।’उनले विशेष परिस्थितिका कारण दुई ठूला दलहरू एक ठाउँमा उभिएको बताइन्। साथै, उनले आफू अहिले देशको प्रधनमन्त्री हुने सम्भावना नरहेको पनि बताइन्।
मन्त्री देउवाले आगामी निर्वाचनसम्मै अहिलको गठबन्धन कायम रहने पनि बताएकी छिन्। दुई ठूला दलले संविधान संशोधनको विषयलाई उठाएको जिकिर गर्दै समावेशीताका विषयमा कुनै परिवर्तन नहुने बताइन्।
‘संविधानको रिभ्यू पनि हो। मूल मर्म परिवर्तन गर्दैनौँ। संविधानलाई शान्तिको डकुमेन्टको रुपमा पनि लिएका छौँ। विविधतालाई समेटेर समावेशी बनाएका छौँ, त्यसमा परिवर्तन ल्याउँदैनौँ। पाँच वर्षको जुन अभ्यास भएको छ, यो बीचमा सिकाइ भएको छ। यसलाई लिएर इम्प्रुभ गर्ने कुरा हो,’ मन्त्री देउवाले भनिन्।
प्रतिक्रिया