काठमाडौँ । चीनको प्रसिद्ध शाओलिन मन्दिरका मुख्य पुजारी सी योङजिनलाई बर्खास्त गरिएको छ । उनीमाथि मन्दिरको सम्पत्ति र कोषको हिनामिना, धेरै महिलाहरूसँग अवैध सम्बन्ध राखेको र अवैध सन्तानको पिता भएको आरोप लगाइएको छ ।
चाइना डेलीको रिपोर्ट अनुसार, धेरै सरकारी निकायहरूले संयुक्त रूपमा यी आरोपहरूको अनुसन्धान गरिरहेका छन् । यसैबीच, चीनको बौद्ध संघले सोमबार उनको दीक्षा प्रमाणपत्र खोसेको छ । संघले सी योङजिनको कार्यले बौद्ध समुदायको प्रतिष्ठा र भिक्षुहरूको छविलाई गम्भीर रूपमा क्षति पुर्याएको बताएको छ ।
सी योङजिनको वास्तविक नाम लिउ यिङचेङ हो । उनले सन् १९८१ मा शाओलिन मन्दिरमा प्रवेश पाएका थिए । उनी सन् १९९९ मा मुख्य पुजारी बनेका थिए । मठाधीशको गतिविधिलाई बौद्ध धर्मको सिद्धान्तको स्पष्ट उल्लङ्घन मानिएको छ ।
शाओलिन मन्दिर मध्य चीनको हेनान प्रान्तको पहाडमा अवस्थित छ। यो १५०० वर्ष पुरानो मन्दिर धार्मिक कारणले मात्र नभई यसको मार्शल आर्ट परम्परा, विशेष गरी कुङ फूका लागि पनि विश्वभर प्रसिद्ध छ ।
सी योङजिन सन् १९९९ देखि शाओलिन मन्दिरका प्रमुख थिए । उनले यो मन्दिरलाई आधुनिक व्यापारिक मोडेलमा रूपान्तरण गरे, जसका कारण उनी 'सीईओ भिक्षु' भनेर चिनिन थालियो । उनको नेतृत्वमा, मन्दिरले विदेशमा स्कूलहरू खोल्यो र विश्वभर शाओलिन कुङ फु कार्यक्रमहरू प्रदर्शन गर्ने भिक्षुहरूको समूह गठन गर्यो ।
यद्यपि, योङजिन विवादमा परेको यो पहिलो पटक होइन । पहिलो पटक २००६ मा, एक स्थानीय सरकारले उनलाई लगभग १० लाख युआन मूल्यको फक्सवागन एसयूभी उपहार दियो । त्यसपछि सीले स्थानीय पर्यटन प्रवर्द्धन गर्न मद्दत गरेको र सरकारले खुशीको लागि उनलाई यो उपहार दिएको विश्वास गरियो । यद्यपि, योङजिनले त्यसपछि यसलाई उपहार भन्दै यो कुनै व्यक्तिगत लाभ नभएको बताए ।
यसपछि, २०१५ मा, उनका एक पूर्व शिष्यले सी योङजिनको धेरै महिलाहरूसँग अवैध सम्बन्ध रहेको बताए र उनीहरूका बच्चाहरू पनि रहेको आरोप लगाये । यसबारे उनले यी आरोपहरू झूटा र निराधार भएको बताए । पछि, प्रमाणको अभावमा यी आरोपहरू खारेज गरियो ।
यसपछि, उनीमाथि मन्दिर परियोजनाहरू र सम्पत्तिको दुरुपयोग गरेको र त्यसबाट व्यक्तिगत फाइदा उठाएको आरोप लगाइएको थियो । नक्कली रसिदहरू जारी गरेर र आफ्नो पहिचान लुकाएर आर्थिक अनियमितताको आरोप लगाइएको थियो । यद्यपि, यसको लागि पनि कुनै प्रमाण फेला परेन ।
योङजिनले एक पटक सुनको धागोले बनेको ब्रेसलेट लगाएका थिए, जसको लागि उनको आलोचना गरिएको थियो ।
बौद्ध धर्ममा, भिक्षुहरूले सरल जीवन बिताउने र सांसारिक सुखविलासबाट टाढा बस्ने अपेक्षा गरिन्छ । आलोचकहरूले मठाधीशले भिक्षुको जीवन बिताउनुपर्नेमा आकर्षक, महँगो पोशाक लगाउने गरको, जसले धर्मको गरिमा र मन्दिरको परम्परालाई कलंकित गरेको आरोप लगाउदै आएका थिए ।
योङजिनमाथि शाओलिन मन्दिरलाई धार्मिक स्थलको सट्टा व्यावसायिक संस्थाको रूपमा सञ्चालन गरेको आरोप पनि छ । उनले विश्वभर मन्दिरसँग सम्बन्धित भिक्षुहरूको प्रत्यक्ष कुङ फू कार्यक्रमहरू आयोजना गर्न थाले । धेरै हलिउड चलचित्रहरू, टिभी कार्यक्रमहरू र भिडियो गेमहरूमा शाओलिनको नाम प्रयोग गरिन्थ्यो । यसलाई प्रचार र पैसा कमाउने माध्यम मानिन्थ्यो ।
२०१५ मा, शाओलिन मन्दिर अर्को विवादमा आयो जब यसले लगभग ३०० मिलियन डलरको लागतमा एक विशाल मन्दिर परिसर निर्माण गर्ने योजना बनायो । उनीहरूले परियोजनाको लागि १२०० हेक्टर जग्गा किनेका थिए ।
यस परियोजनामा होटल, कुङ फू स्कूल र गल्फ कोर्स समावेश थियो । यसले विश्वभर शाओलिन परम्परा फैलाउन मद्दत गर्ने भनिएको थियो । यद्यपि, यसको धेरै आलोचना भयो । यसपछि, योङजिनले परिसर ध्यान, कुङ फू र खेतीपातीको लागि मात्र प्रयोग गरिने बताएका थिए ।
प्रतिक्रिया