×

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

images

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- समाजवादी मोर्चाको बैठक सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको बैठकले मोर्चालाई सक्रिय बनाउने र नयाँ कार्यक्रम ल्याउनेबारे छलफल भएको छ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  छोटकरी प्रतिक्रिया दिदै मोर्चाले सशक्त कार्यक्रम ल्याउने बताए । मोर्चाको औचित्य भएननी भन्ने प्रश्नमा प्रचण्डले भने- 'अब देख्नुहुन्छ, यो अझ औचित्यपूर्ण भएर सक्रिय भएर आगाडी आउछ ।'  बैठकमा पहिलो पटक सहभागी भएका बामदेव गौतमले अहिलेसम्म मोर्चाले गरेका कामको समीक्षा भएको र अब आन्दोलनका कार्यक्रम ल्याउने विषयमा छलफल भएको बताए । उनले मोर्चाले सकेसम्म छिटो आन्दोलनका कार्यक्रम ल्याइने बताए ।

२- प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् ।  प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् । कैलालीको जानकी गाउँपालिका वडा नं ९ कटासेस्थित सिँचाइ नहरमा विद्युत उत्पादन भएर ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम शुरु भएका छन् । आयोजनाले विगतमा टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा तेस्रो चरणमा भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि गर्नेछ ।

३- सुदूरपश्चिमका दुई जना मन्त्री सवार गाडी एक आपसमा ठोक्किएका छन् ।  मंगलवार चिसापानीमा आयोजना हुने कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एक आपसमा ठोक्किएका हुन् । दुवै मन्त्री चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा जानेक्रममा सो दुर्घटना भएको थियो । दुर्घटनामा दुवै गाडीमा क्षति भएको छ भने मानववीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अगाडी रहेको मन्त्री सार्की सवार गाडीले अचानक ब्रेक लगाउदा मन्त्री पाल सवार गाडीले अगाडीको गाडीलाई ठोकेको प्रहरीले बताएको छ । 

४- श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँएको छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।  नाग पूजाको प्रचलन वैदिककालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

५- इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरु स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि इराकस्थित युनाइटेड नेसन्स असिस्टेन्स मिसन फर इराकमा कार्यरत कर्मचारी एवं शान्ति सैनिकहरू क्रमिक रूपमा फिर्ता गरी मिति २०८२ पौष १६ गतेसम्ममा बन्द गर्ने संयुक्त राष्ट्र संघको ट्रान्जिसन एण्ड लिक्विडेसन योजना अनुसार सन् २०२५ जुलाई अन्तिमसम्ममा मिसनबाट फिर्ता हुनुपर्ने ८८ जना नेपाली शान्ति सैनिकहरू मध्ये अन्तिम २७ जनाको टोली मंगलबार प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा स्वदेश फिर्ता भएको छ । संयुक्त राष्ट्र संघको योजना अनुसार अन्तिम टोलीको आगमनसँगै उक्त मिसनबाट २०८२ आषाढ २४ गते पश्चात् विभिन्न ४ वटा व्यावसायिक उडान मार्फत मिसनमा तैनाथ सबै नेपाली शान्ति सैनिकहरू फिर्ता भएका छन् ।

६- बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा नदिने बताएका छन् । संसदीय दलमा दर्ता भएको लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि प्रतिक्रिया दिदै मुख्यमन्त्री नछोड्ने बताएका छन् । लामाले मुख्यमन्त्रीबाट राजीनामा दिनुपर्ने कारण नै नभएको बताउदै गठबन्धन सरकारमा संसदीय दलको हट्दैमा मुख्यमन्त्री छोड्नु नपर्ने बताएका छन् । उनले भने- 'दलको नेता खाली भयो, मुख्यमन्त्री त फेर्न सक्दैन, कानुन अनुसार हुनुपर्छ, मुख्यमन्त्री बन्न दलको नेता हुन आवश्यक छैन । राजीनामा गर्नुपर्ने अवस्था नै छैन । संबिधानमा बहुमतको सरकार हुदा संसदीय दलको नेता हुनु आवश्यक छ तर गठबन्धन सरकारमा दलको नेता हुन आवश्यक छैन ।'   

७- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी जग्गा दुरुपयोग रोक्न सक्रियता देखाएका छन् । हाल विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाइए पछि मन्त्री पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए । त्यस आधारमा मन्त्रालयले यस अघि विवरण प्राप्त नभएका अस्पताल, प्रयोगशाला तथा केन्द्रहरुका नाममा सात दिनभित्र विवरण पठाउन परिपत्र गरेको छ । प्राप्त विवरणका आधारमा अतिक्रमण भएको पाइएमा आवश्यक कदम चाल्ने मन्त्रालयको तयारी छ । मन्त्री पौडेलले यस अघि अतिक्रमणमा परेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नाममा रहेको अतिक्रमित जग्गा संरक्षणमा समेत पहल गरेका थिए । अब केन्द्रकै सेवा विस्तारका लागि जग्गा उपयोग गर्ने तयारी अघि बढाइएको छ ।

८- सिन्धुलीबाट बेपत्ता भएका भनिएका हायु परिवार पोखराम भेटिएपछि उनीहरुमाथि पूर्वाग्राही ढंगले टिप्पणी भएको भन्दै  हायू समाज नेपालले आपत्ति जनाएको छ । अध्यक्ष लक्ष्मण हायुले विज्ञप्ति जारी गर्दै सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका- ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई सामाजिक सुरक्षा भत्तासँग जोडेर गलत टिप्पणी गरेको भन्दै आपत्ति जनाएका हुन् । साथै समाजले यो परिवारको पुनःस्थापना र व्यवस्थापनका लागि स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसँग माग पनि गरेको छ । स्थानीयले खबर गरेपछि  सोमबार खोजी गर्दै जादा उनीहरु पोखरा-३० गगनगौडामा भेटिएका थिए । उनीहरुले आफुहरुको आर्थिक स्थित कमजोर भएको र पोखरामा मजदुरी गर्न आएको बयान प्रहरीमा दिएका छन् ।

९- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ ।  मंगलबार भएको मतदानमा मुख्यमन्त्री लामाको पक्षमा १५ जनाले मत दिएका थिए भने उनको विपक्षमा २२ सांसदले मत दिएपछि उनले संसदीय दलको नेताबाट विश्वास गुमाएका हुन् ।  अविश्वास प्रस्ताव पारित भएसँगै अब नयाँ संसदीय दलको नेता चयनको प्रक्रिया शुरु हुने बताइएको छ । कांग्रेसले बागमतीमा देखिएको विवाद मिलाउन नेता राजेन्द्र केसीलाई तोकेको छ । यसअघि सोमबार बसेको संसदीय दल र प्रदेश समितिको बैठकमा सहमति हुन नसकेपछि मतदानबाट विवाद समाधान गरिदैछ ।

१०- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका नेता कार्यकर्ताले नेतृत्व लिएका हरेक सामाजिक संघ संस्थाहरूमा माओवादीले राम्रो गर्छन् भन्ने स्थापित गर्नेगरी मौलिक सोच झल्किनु पर्ने बताएका छन् । माओवादी केन्द्र समाज कल्याण विभागद्वारा आज काठमाडौंमा आयोजित 'सामाजिक न्याय, समावेशिता र सामाजिक संघ–संस्थाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम' मा सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

११- डोल्पाका जिल्लाको ठुलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदिको बीच भागमा फसेका चार जनाको सकुशल उद्वार गरिएको छ । मंगलबार उद्वार गरिकाहरुमा सोही जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षिय ललित बोहरा, २६ वर्षिय नन्द प्रसाद बोहरा, ३५ वर्षिय लाल कुमार बुढा र ३७ वर्षिय श्यामलाल बोहरा छन् । मंगलबार बिहान दाउरा लिन गएका उनीहरु नदिमा एक्कासी पानीको बहाव बढेपछि नदिको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपकराज भट्टको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजसहित नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको सकुशल उद्वार गरेको हो ।

१२- नवलपुरस्थित नारायणी नदीमा फाल हालेर एक जना युवक वेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी २० बर्षका युवक पुलबाट नदीमा फाल हालेर वेपत्ता भएका हुन् । मंगलबार विहान ६ बजे बेपत्ता भएका उनको खोजीकार्य जारी रहेको छ ।  नामथर वतन नखुलेको पुरुष व्यक्ति साईकल र चप्पल पुलमा छोडेर नदीमा हाम फालेको बताइएको छ  । हाल सशस्त्र प्रहरी वल १७ नम्बर गण आँपटारी चितवनबाट खटिएको गोताखोरको टोलीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

१३- नेकपा एमालेले अन्तर पार्टी निर्देशन जारी गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने जानकारी गराएका छन् ।  केन्द्रिय कमिटीको बैठकका निर्णयहरु जानकारी गराउदै अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन मार्फत राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्ने उल्लेख गर्दै राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना नगरेको उल्लेख गरेका छन् ।

१४- नेप्से परिसूचक ३ हजार पार भएको छ । मंगलबार ३०.७६ अंकले बढेर आज ३००२.०७ विन्दुमा पुगेको हो । नेप्से २०७८ को भदौमा २ गते ३१९८ विन्दुमा पुगेको किर्तिमान रहेको छ । यस अघि गत बर्ष साउन ३० गते ३०००. ८१ विन्दुमा पुगेर घट्न शुरु भएको थियो । आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

१५- हिमालयन बैंक लिमिटेडको एफपिओ बाँडफाँड भएको छ । मंगलबार वितरण हिमालयन बैंक लिमिटेडको कमलादीस्थित कार्यालय परिसरमा एफपीओ बाँडफाँड भएको हो । स्वीकृत भएका १७ लाख ६ हजार ३११ आवेदन मध्ये लक्की ड्र बाट  ९ लाख २५ हजार ४६ आवेदकले १०-१० कित्ता सेयर पाएका छन् भने ९ जनाले एक एक कित्ता सेयर पाएका छन् । 

१६- नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको ६ सयले घटेर तोलाको एक लाख ९३ हजारमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २२९५ मा कारोबार भएको थियो ।

१७- अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज क्लीन स्वीप गरेको छ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पाँचौं खेल ३ विकेटले पराजित गरेसँगै सिरिज ५-० ले जितेको हो । वेस्ट इन्डिजले दिएको १७१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १७ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि वेस्ट इन्डिजले पहिला ब्याटिंग गर्दै १९.४ ओभरमा अल आउट हुदै १७० रन बनाएको थियो । यो जितपछि अस्ट्रेलियाले ५ खेलको सिरिज क्लीन स्वीप गरेको छ । अस्ट्रेलियाका क्यामरुन ग्रीन यस सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।     

१८- बलिवुड फिल्म 'सैयारा' ले बम्पर कमाई गरिरहेको छ । अहान पाण्डेको डेब्यू फिल्म 'सैयारा' घरेलु बक्स अफिसमा कमाईको सुनामी ल्याएको छ । फिल्म सैयारा घरेलु बक्स अफिसमा रिलिजको ११ दिनमा २६.२५ करोड कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो सोमबार ९.५० करोड भारु कमाई गरेको छ भने फिल्मले रिलिजको दोसो शुक्रबार १८.५० करोड, दोस्रो शनिबार २७ करोड र दोस्रो आइतबार ३० करोड कमाई गरेको थियो ।  यस अघि फिल्मले रिलिजको पहिलो साताम १७५ करोड २५ लाख भारु कमाई गरेको थियो । त्यस्तै फिल्मले विश्वव्यापी ग्रस कमाई ४ सय करोड गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले घरेलु बक्सअफिसमा ग्रस ३१८ करोड कमाई गरेको छ भने भारत बाहिर ८६ करोड कमाई गरेको छ । फिल्मले ११ दिनमा ४०४ करोड भारू कमाई गरेको छ ।   

१९- रुसले युक्रेनमा गरेको पछिल्लो आक्रमणमा कम्तिमा २२ जनाको मृत्यु भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणपूर्वी युक्रेनको सीमावर्ती क्षेत्रमा अवस्थित जेलमा रूसी हवाई आक्रमणमा २२ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएका छन् । जापोरिजियामा भएको रातभरको आक्रमणले नजिकैका घरहरूलाई पनि क्षति पुर्‍याएको छ । यस अवधिमा, रूसी सेनाले एयर-ग्लाइड बमबाट आठ आक्रमणहरू गरेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

२०- थाइल्याण्ड र कम्बोडियाबीच पाँच दिनसम्म चलेको रक्तपातपूर्ण द्वन्द्वपछि सोमबार मलेसियामा बिना शर्त युद्धविराम घोषणा गरिएको थियो । तर मंगलबार बिहानसम्ममा यो युद्धविरामलाई लिएर विवाद सुरु भएको छ । थाइल्याण्डले कम्बोडियामाथि गोलीबारी गरेको आरोप लगाएको छ भने कम्बोडियाले सम्झौतापछि कतै पनि गोलीबारी नगरेको दाबी गरेको छ । थाई सेनाले मध्यरातबाट युद्धविराम लागू भएपछि पनि कम्बोडियाले धेरै मोर्चामा गोलीबारी गरेको बताएको छ । थाई सेनाले उनीहरूले प्रतिशोधात्मक र रक्षात्मक कारबाही मात्र गरेको बताएको छ । कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेताले थाई आरोपहरूलाई अस्वीकार गर्दै युद्धविराम लागू भएदेखि कुनै पनि मोर्चामा सशस्त्र द्वन्द्व नभएको बताएका छन् । उनले कम्बोडियाली नेतृत्व यो युद्धविराम लागू गर्न दृढतापूर्वक प्रतिबद्ध रहेको बताए ।

 

मङ्गलबार १४ साउन २०८२ ०७:५४ PM मा प्रकाशित

प्रतिक्रिया