×

रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मनोनीत, सभापतिपछिको दोस्रो वरियता कायम

images

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीसमेत रहेका बालेन्द्र शाह (बालेन) लाई पार्टीको वरिष्ठ नेतामा औपचारिक रूपमा मनोनीत गरेको छ। बुधबार पार्टी मुख्यालयमा बसेको केन्द्रीय समिति बैठकले शाहलाई सभापति रवि लामिछानेपछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। 

पार्टीको हालै परिमार्जित विधानमा वरिष्ठ नेताको व्यवस्था समावेश गरिएसँगै केन्द्रीय समितिले शाहको मनोनयनलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। 

रास्वपा नेताहरूका अनुसार चुनावअघि काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख शाह र रास्वपाबीच भएको राजनीतिक समझदारीअनुसार नै उनलाई यो उच्च जिम्मेवारी दिइएको हो। भरतपुरमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनमा भएको सहमति र संशोधित विधानको प्रावधानलाई टेकेर सभापति लामिछानेले शाहको नाम प्रस्ताव गरेका थिए, जसलाई बैठकले पारित गर्‍यो। 

शाह पार्टीको संरचनाभित्र सभापतिपछिको दोस्रो मर्यादाक्रममा रहनेछन्। संशोधित विधान अनुसार महाधिवेशनबाट चुनिएका पदाधिकारीबाहेक वरिष्ठ नेता, उपसभापति, महामन्त्रीसहित ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्य सभापतिको सिफारिसमा केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ। रास्वपाले निकट भविष्यमै संगठन विस्तार, नीतिगत निर्णय र भावी कार्यदिशामा वरिष्ठ नेता शाहको भूमिका र अधिकारबारे विस्तृत खाका सार्वजनिक गर्ने जनाएको छ। 

गएको आम निर्वाचनअघि रास्वपा प्रवेश गरेका शाह झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यसलगत्तै रास्वपा संसदीय दलको नेता चुनिएका उनी गत चैत २७ गते नेपालको इतिहासकै सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गरेका थिए। 

पार्टीको नेतृत्वमा सरकार गठन भई प्रधानमन्त्रीको कार्यभार सम्हालिरहेका शाहलाई 'वरिष्ठ नेता' को औपचारिक जिम्मेवारी दिएसँगै रास्वपाले आफ्नो आन्तरिक संगठनात्मक नेतृत्व र सरकार–पार्टी समन्वयलाई थप सुदृढ बनाउने अपेक्षा राखेको छ। 

बुधबार १३ साउन २०८३ ०८:१३ PM मा प्रकाशित

प्रतिक्रिया