×

नदीमा फोहोर फाल्ने उद्योगको गेटमा वीरगञ्ज महानगरले थुपार्‍यो फोहोर

images

काठमाडौं ।  वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालीको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो ।

वीरगञ्ज महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आज फोहरमैला खसाली दिएको बताए । “उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उनहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो”, उनले भने ।

महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला  नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए ।  महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो । तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए । नगर प्रहरी प्रमुख भुसालले भोलि पनि नदी फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिए ।

यसअघि गतवर्ष महानगरले उपमेयर इम्तियाज आलमको संयोजकत्वमा सिर्सिया नदी सफाइ अभियान चलाएको थियो। अभियानअन्तर्गत नदीमा फोहोर फाल्दै आएका उद्योगको अनुगमन गरी वाटर ट्रिटमेन्ट प्लान्ट जडान गर्न तथा जडान भएका उद्योगमा प्लान्ट सञ्चालन गरी फोहोर बिसर्जन गर्न महानगरले आग्रह गरेको थियो।

त्यसको केही दिनसम्म केही उद्योगहरुले वाटर ट्रिटमेन्ट प्लान्ट सञ्चालन गरी फोहोर प्रशोधन गरेका थिए भने केही उद्योगले नदीमा फोहोर फाल्न बन्द गरेका थिए। 

सोमबार १४ साउन २०८१ ०९:५१ AM मा प्रकाशित

प्रतिक्रिया