×

स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बाल मन्दिर हुँदै टीकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्नुहोस

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले भ्रष्टाचारको फाइल आफूले खोल्ने प्रयास गरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनले बन्द नहुँदै जिउँदै रहेको फाइललाई गाड्न खोजिएकाले आफूहरूले त्यसलाई नै पुनः खोल्न प्रयास गरेको बताएका हुन् ।

उनले भने, ‘हिजो यहाँ कुरा आयो फाइल हामीले खोलेका हौँ, तिमीहरूले खोलेको होइनौं भनेर। ठीक छ, तपाईँहरूले नै खोल्नुभएको हो, हामीलाई जस चाहिएको छैन । काण्ड पनि हामीहरूले नै हो गरेको हो भन्दिएको भए राम्रो हुन्थ्यो । ३० औँ वर्षमा यी काण्डहरू नि आफैँले गरेको हो । फाइल तपाईँहरूले नै खोल्नुभएको हो । तर बन्द नहुँदै जिउँदै रहेको फाइललाई तपाईँहरूले गाड्न खोज्नुभयो । जसमा प्रमाण थियो । त्यसलाई नै पुनः हामीले खोल्न प्रयास गरेका थियौं।’

लामिछानेले आफू केही समय नबोलौँ भनेर चुप लागेर बसेको भए पनि पछिल्लो समय सदनमा आफूमाथि लागेको आरोपबारे स्पष्ट पार्नुपर्ने अवस्था आएको धारणा राखे । भ्रष्टाचारको फाइल खुल्ने विषयमा आफूलाई जस नचाहिएको उनले बताए ।

उनले कैलाश सिरोहियाको नागरिकता प्रकरणमा अझै पनि अनुसन्धान जारी रहेको, बाँसबारी छालाजुत्ता कारखानाको विषयपनि अझैसम्म अनुसन्धानमा रहेको जिकिर गरे । आफू गृहमन्त्री हुँदा भएको अनुसन्धानलाई पूर्वाग्रह साधेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराउन खोजेको समेत बताए ।

लामिछानेले केही समयअघि सहकारी-बन्धु भनेर भाषा प्रयोग गर्नेले उक्त भाषा बन्द गरेको हेर्न नचाहेको तर्क गरे । त्यसका साथै स्काउट ड्रेसमा बाँसबारी जुत्ता लगाएर बाल मन्दिर हुँदै टीकापुर हिँडेको नक्कली भुटानीबन्धु भन्ने आँट गर्नुपर्ने उनको भनाइ छ । 

‘सरकारमा रहेका दुई ठुला दलको टार्गेट राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रधानमन्त्रीको अभिव्यक्ति, हिजोको कांग्रेस महामन्त्रीको अभिव्यक्ति र आज विषयान्तर गर्न खोज्नुभएका एमालेका पुराना नेताको अभिव्यक्तिले के देखाउँछ भने अव यी नयाँलाई ठिक पार्नुपर्छ’, उनले भने, ‘एउटा एउटा आरोप लगाइदिनुपर्छ भनेर मिलेको कुरा पनि स्पष्ट हुन्छ ।’ नेताहरूका यस्तै अभिव्यक्ति र संसदमा भइरहेको पछिल्ला गतिविधिहरूले अव मुलुकका लागि रास्वपा नै देशको विकल्प हो भन्ने कुरा स्पष्ट भएको लामिछानेको भनाइ छ ।  

उनले भने, ‘होलीवाइनको त्यो डक्ट्रिन के हो ? एकपटक सोध्न मन छ । मध्यरातमा खुफिया एजेन्सी भेट्ने त्यो डक्ट्रिन के हो त्यो पनि जान्न मन छ । कुनै बिचौलियका घरमा मध्यरातमा बसेर सरकार चलाउने दस्तखत गर्ने डक्ट्रिनका बारेमा कुनै दिन खुलेर कुराकानी गरौला ।’ 

सोमबार १४ साउन २०८१ ०८:४६ PM मा प्रकाशित

प्रतिक्रिया