×

टेरामक्स भ्रष्टाचार प्रकरण- कांग्रेस नेता बस्नेत विशेष अदालतमा उपस्थित्,आजै थुनछेक बहस

images

काठमाडौं । नेपाली कांग्रेसका  नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित् भएका छन् । अख्तियारले बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । बस्नेत आँफैले अदालतमा उपस्थित् हुने निवेदन दिएका थिए ।

बस्नेतविरुद्ध नेपाल दूरसञ्चार प्राधिकरणको टेरामस्क प्रविधि खरिदमा भ्रष्टाचार गरेको भन्दै मुद्दा परेको हो । बस्नेतको बयान विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलास (२) मा जारी छ ।

बयान सकिएपछि आजै उनी विरुद्ध थुनछेक बहस हुनेछ । बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो । अख्तियारले मुद्दा दायर गरेपछि बस्नेतको सांसद पद निलम्बन भएको थियो । 

सिन्धुपाल्चोकका निर्वाचित सांसद समेत रहेका बस्नेतले सञ्चारमन्त्री छँदा पदीय दुरूपयोग गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँबराबरको घोटाला गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने मन्त्रिपरिषद्मा मात्र निहित अधिकारको अपव्याख्या गरी ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) का उपकरण र प्रणाली सञ्चालन गर्न निर्देशन दिएको अख्तियारको आरोप छ। टेरामक्सका लागि परामर्शदाताको मुख्य काम डिजाइन, डेभलप, सप्लाई, सफ्टवेयरको स्थापना लगायतका कुनै कार्य नगरी सामान आपूर्ति गरेबापत १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी दिइएको थियो। 

आइतबार​ १५ असार २०८२ ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया