काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टी नेतृत्वमाथि नै संकट आएको भन्दै अब अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेकी छिन् । हिजो (शनिबार) पार्टीसम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले यही अवस्थामा पार्टी लिएर जाँदा पार्टी नै विघटन हुनसक्ने खतरा औंल्याईन् ।
उनले अध्यक्ष माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा लागेको विषयमा संकेत गर्दै अब मरेको सिनो काँधमा हालेर हिड्न नसक्ने टिप्पणी गरिन् । उनले भनिन्, ‘पार्टी बनाउने हो भने अब यस्तै संकटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो संकट छ । तपाईंहरू सबैलाई थाहा छ, पार्टीमा संकट छ । अध्यक्षकै बारेमा संकट आयो । अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । संकट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौं ।’
उनले पार्टी पूनर्गठनको फुर्मलापनि सुनाईन् । त्यसको लागि अर्ली महाधिवेशन गरिनुपर्ने र त्यही अधिवेशनबाट नयाँ अध्यक्ष बनाउनुपर्ने प्रस्ताव उनको थियो । उनले थपिन्,‘कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन रु गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउनसक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न।’
प्रतिक्रिया