×

रवीन्द्र र धवलशमशेरलाई २४ घण्टाभित्र बिनासर्त रिहा नगरिए देशभर विरोधका कार्यक्रम गर्ने राप्रपाको चेतावनी

images

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गर्न माग गरेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको छानविनका लागि स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो। बैठकले उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशमशेर राणालाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न अल्टिमेटम दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। आफ्ना नेताहरुलाई रिहा नगरिए देशभर विरोधका कार्यक्रमहरु गर्ने र त्यसलाई आन्दोलनका रुपमा उठाएर लैजाने उनले बताए।

त्यस्तै बैठकले राजावादीको प्रदर्शनका क्रममा भएको घटना सरकारकै कारणले निम्तिएको निष्कर्ष निकालिएको उनले जानकारी दिए। शुक्रबारको प्रदर्शनमा सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको र हिंसा भड्काउन उद्दत रहेको लिङ्देनले बताए। उनले शान्तिपूर्ण सभा चलिरहेको स्थानमा सुनियोजित रुपमा अश्रुग्यास प्रहार भएपछि घटना घट्न पुगेको जिकिर गरे।

बैठकले शुक्रबार भएको घटनामा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्न पनि माग गरेको छ। अध्यक्ष लिङदेनले सरकारले शुक्रबारको घटनामा सुरक्षा दिन नसकेको धारणा राखे। बैठकले यस घटनालाई लिएर पूर्वराजालाई राजनीतिमा तान्ने काम रोक्न अपिल समेत गरेको छ।

शनिबार १५ चैत २०८१ ०८:३१ PM मा प्रकाशित

प्रतिक्रिया