काठमाडौं : प्रजातन्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि माघ १६ गते सहिद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ।
कठोर र निरङ्कुश राणा शासनविरुद्ध क्रान्ति गर्ने वीर शहीद शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्यदण्ड दिएपछि यिनै चार सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै मुलुकभर सप्ताहका रूपमा शहीद दिवस मनाउन शुरु गरिएको हो।
विसं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, माघ १४ गते गङ्गालाल र दशरथलाई शोभा भगवती घोडेनागस्थित भचाखुसीमा मृत्युदण्ड दिइएको थियो।
क्रान्तिमा नवयुवकलाई भड्काएर देशमा विद्रोह फैलाएको अभियोगमा टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा कपाल मुडेर वन्दी बनाइएको थियो। यो घटनापछि कारागारमै शहीद दिवस मनाउन थालिएको थियो तर त्यो समाचार पनि प्रजातन्त्र स्थापना भएपछि मात्र सार्वजनिक भयो।
२०११ सालमा नेपालको पहिलो राजनीतिक दल प्रजापरिषद्ले सहिद सप्ताह मनाएको थियो। त्यसअघि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको हर्ष उल्लासमा विसं २००९ सालमा तत्कालीन राजा त्रिभुवनको अध्यक्षतामा सहिद सप्ताह मनाइएको थियो।
विसं २०१७ सालपछि दलमाथि प्रतिवन्ध लगाइएपछि शहीद सप्ताह ओझेलमा पर्यो, उमङ्गका साथ मनाउन नै छोडियो। काठमाडौं नगरपालिका तहमा मनाइने शहीद दिवस २०४६ पछि भने हर्षोल्लासका साथ मनाउन थालियो।
मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२-६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेको छ। तर सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन।
नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ। त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद–शुक्रराज शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरेको छ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्ति वाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभात फेरि कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभात फेरि सहिद स्मारक लैनचौर पुगी ज्ञात अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।
विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिद गेटमा पनि विभिन्न संघ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।
पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिएको छ । विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरूप पुष्प गुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ ।
प्रतिक्रिया