×

माओवादीले ल्याएको व्यवस्थामा बसेर जनयुद्धलाई हिंसा देख्नेहरुको प्रतिवाद गरिन्छ - माओवादी केन्द्र

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नी प्रसाद सापकोटाले इच्छुकहरुले जनयुद्धमा गरेको बलिदानबाट आएको व्यवस्थामा बसेर जनयुद्धलाई हिंसा देख्नेहरुको प्रतिवाद गरिने बताएका छन् । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको उपलक्षमा काठमाडौंमा भएको प्रभातफेरीपछिको कोणसभामा सापकोटाले ओली सरकारको उल्टो यात्राले माओवादीलाई फाईदा पुगिरहेकोसमेत बताए ।

माओवादी उपाध्यक्षसमेत रहेका सापकोटाले हजारौं जनयोद्धाहरुको त्याग तपस्या र बलिदानको अबमुल्यन गर्ने षड्यन्त्र धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । आफूहरु केही समय जनताबाट टाढा रहँदा प्रतिगमनकारीहरु सलबलाउने मौका मिलेकोब ताउँदै सापकोटाले भने,“हामीहरु केहि समय अल्मलिएका थियौं तर अहिले अध्यक्ष कमरेड प्रचण्डसहित सिंगो पार्टी जनतामा पुगिरहेको छ ।”

त्यसैगरी सो पार्टीका केन्द्रीय सदस्य तथा प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले जनयुद्धको समयमा जंगल र ओडारमा बसेर प्रतिक्रियावादी सत्ताका विरुद्ध कलम चलाउँदाको समय जत्तिकै अहिले पनि उत्तिकै महत्व रहेको बताए ।
अध्यक्ष विष्णु सापकोट‘जुगल’ले प्रेस सेन्टरले पार्टी,संगठन र बिचारको रक्षाका निम्ति आफ्नो तर्फाबाट लडिरहेको र यसलाई थप विकास र सुदृढि बनाउँदै लग्नु पर्ने धारणा राखे । विहान ८ बजे संगठनको केन्द्रीय कार्यालय बबरमहलबाट प्रभातफेरी सुरु गरेर माईतिघर मण्डलामा पुगेर पुनः संगठनको कार्यालय प्राणङ्गणमा आएर समापन भएको थियो ।

बुधबार १६ माघ २०८१ ०८:५९ PM मा प्रकाशित

प्रतिक्रिया