चितवन — उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए । सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समिकरण बनेको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले भने, 'विधिको शासन कायम गर्नेतर्फ हाम्रो प्रयास रहन्छ । उनले आफूलाई वैकल्पिक शक्तिहरु भन्नेहरुले कानुनको पालना गर्न नहुने भन्दै प्रश्न गरे । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लक्षित गर्दै उनले वैकल्पिक पार्टीमा इमान्दारिता नदेखिएको बताए ।
उनले भने, ‘हामी वैकल्पिक पार्टी हौं भन्नेहरुको हविगत नदेखेको होइन । अघिल्लो चुनावमा आएका वैकल्पिकहरु अहिले कहाँ छन् ? अहिले पनि आएकाहरुको पनि हालत त्यही हुने हो । यिनीहरुमा इमान्दारिता हुनुपर्दैन ? यिनीहरुलाई केहि गर्नै नहुने ?’
फरक प्रसङगमा उनले कांग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । 'पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा हामी गन्तव्यमा पुग्न सक्दैनौँ । पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै हो,' उपप्रधानमन्त्री सिंहले भने । नेपाली कांग्रेसको नेतृत्वबाट जारी सङ्घीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरशः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कामय गर्दै विकासलाई सँगै लैजानुपर्ने उनले उल्लेख गरे ।
प्रतिक्रिया