काठमाडौँ । अर्थ मन्त्रालयले विद्युतीय भुक्तानीबाट कारोवार गर्न आग्रह गर्दै ठूलो परिमाणमा नगद राख्न आवश्यक नरहेको बताएको छ ।
आइतबार विज्ञप्ति जारी गर्दै विद्युतीय भुक्तानी मार्फत जुनसुकै सीमा सम्मको रकमको कारोवार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता नरहेको उल्लेख गर्दै आफ्नो जुनसुकै कारोवार सम्भव भएसम्म विद्युतीय भुक्तानी मार्फत गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले २०८२ भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट आगजनी हुँदा विभिन्न स्थानमा नगद समेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने सूचना सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट प्राप्त भएको सन्दर्भमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल सरकारले सेवा वा वस्तुको खरिद विक्री वा अन्य कारोवार वित्तीय संस्था वा बैङ्किग उपकरण मार्फत गर्ने गरी विद्युतीय कारोवारलाई प्रोत्साहित गरिरहेको भन्दै विद्युतीय भुक्तानी मार्फत जुनसुकै सीमा सम्मको रकमको कारोवार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता छैन। अतः आफ्नो जुनसुकै कारोवार सम्भव भएसम्म विद्युतीय भुक्तानी मार्फत गर्न अनुरोध गरेको छ ।
प्रचलित कानुन बमोजिम आय आर्जन भएको र स्रोत खुलेको रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै वाधा व्यवधान नरहेको जानकारी गराउदै विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको भन्ने सम्वन्धमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भैरहेको छ । कुनै व्यक्तिले नगदमा कारोबार गर्ने सम्बन्धमा विद्यमान कानूनी व्यवस्था रहेको जानकारी दिएको छ ।
विद्यमान कानूनी व्यवस्था:
१- कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दशलाख रुपैया वा सो भन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोवार गर्दा बैङ्किग उपकरण मार्फत गर्नु पर्ने। तर, कर सम्बन्धी प्रचलित कानूनले सीमा तोकेकोमा सोही बमोजिम हुने।
२- नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० (पाँच हजार) सम्म (भारतीय रूपैंयाको हकमा अमेरिकी डलर ५,००० बराबर हुन आउने भारतीय रूपैंया सम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५,००० बराबर सम्म) भन्सार घोषणा विना नेपालमा भित्र्याउन सक्ने र सो भन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको।
३- नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १,५०० (एक हजार पाँचसय) वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको ।
उल्लेखित कानुनी व्यवस्था वाहेक स्रोत नखुलेको नगद कहीं कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारवाही गर्न सबै निकायलाई सक्रिय गराइएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया