काठमाडौँ/मनाङ — मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमाल क्षेत्रमा आइतबार बिहान गएको भीषण हिमपहिरोमा परेर कम्तीमा १२ जना कामदार तथा आरोही टोलीका सदस्य अझै सम्पर्कविहीन भएका छन्। हिमपहिरोमा परेकामध्ये दुई जनाको शव फेला पारेर उद्धार टोलीले काठमाडौँस्थित शिक्षण अस्पताल (टिचिङ) पठाएको छ।
निरन्तरको प्रतिकूल मौसम, भारी वर्षा र हिमपातका कारण हिमलुङ हिमालको आधार शिविर (बेसक्याम्प) नजिकै आइतबार बिहान हिमपहिरो खसेको थियो। शरद ऋतुको मर्मत, आधार शिविर निर्माण तथा डोरी टाँग्ने (रोप फिक्सिङ) कार्यका लागि 'एक्सपोर्टेसन' र 'हिमालयन होलिडेज' लगायतका विभिन्न एजेन्सीमार्फत २७ जना कामदार तथा सदस्यहरू त्यसतर्फ गएका थिए।
हिमपहिरोपछि ११ जना सुरक्षित रूपमा तल ओर्लिएर फु गाउँको सम्पर्कमा आएका छन् भने दुई जनाको शव फेला परेको छ। तर बाँकी १२ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा मुख्यगरी हिमालयन होलिडेजका १२ जना र अन्य सहयोगी कम्पनीका कामदारहरू रहेको जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
उद्धारमा कठिन चुनौती घटनालगत्तै उद्धारका लागि नेपाली सेना, स्थानीय सुरक्षा निकाय र कैलाश हेलिकप्टरसहितको उद्धार टोली परिचालन गरिएको छ। दुई जनाको शव आइतबार साँझ हेलिकप्टरमार्फत मनाङ सदरमुकाम च्यामे ल्याइएको थियो र सोमबार बिहान पोस्टमार्टमका लागि काठमाडौँ पठाइएको हो।
तथापि, उच्च हिमाली भेग, ७,१२६ मिटरको उचाइमा रहेको विकट भौगोलिक बनावट र लगातारको हिमपातका कारण हवाई तथा पैदल उद्धार कार्यमा गम्भीर चुनौती पैदा भएको छ। सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धार प्रयास भने जारी राखिएको प्रशासनले जनाएको छ।
प्रतिक्रिया