×

दुर्लभ हङ्रायोको अपनत्व ग्रहण गर्न सुझाव

images


विश्वमै दुर्लभ अवस्थामा रहेको हङ्रायो चरा इलामको सूर्योदय नगरपालिकामा भेटिए पनि स्थानीय सरकारले अपनत्व ग्रहण गर्न सकेको छैन । गएको २१ डिसेम्बर २०२१ मा झापाका चरा खोज कर्ता देबेन खरेलले सूर्योदय– १ स्थित सिमधापमा सो चरा फेला पार्नुभएको थियो । 

चरा भेटिएको एक वर्षसम्म संरक्षणका लागि कुनै प्रयास नहुनु र विश्वको ध्यान केन्द्रित गराएको चराका सम्बन्धमा नगरपालिका बेखबर हुनु लज्जास्पद विषय रहेको भन्दै ध्यानाकर्षण गराइएको छ । विश्व पर्यटन दिवस २०२२ को अवसरमा नगरपालिकाले आयोजना गरेको फोटो प्रतियोगितामा हङ्रायो चरालाई खास महत्व नदिएपछि चरा खोजकर्ता खरेलले गुनासो गर्नुभएको हो । 

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य सूर्यवाला राईले मन्तव्य राखेपछि समय मागेर बोल्नुभएका खरेलले अन्तर्राष्ट्रिय उपलब्धिलाई नगरपालिकाले अपनत्व ग्रहण गर्न नसकेको बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रमुख समाचार बनेको सो विषय स्थानीय सरकारका लागि गौरभ हुन नसकेको बताउनुभएको हो । दुर्लभ र ओझेलमा परेकाको खोज गर्न आयोजना गरिएको कार्यक्रममा विश्वकै दुर्लभ विषय खोजी गरेर देखाउँदा महत्व नदिनु दुःखद भएको उहाँको भनाइ छ । 

नगरपालिकाले प्रतियोगितामा उहाँलाई तेस्रो बनाएको थियो । हिमाल देखिने कन्यामको फोटोलाई दोस्रो र कन्यामकै रात्रिकालीन दृश्यलाई पहिलो पुरस्कार दिइएको थियो । 

‘एक्सप्लोर दि अनएक्सप्लोर’ नारा राखेर ओझेलमा परेकाको पहिचान गर्न र प्रचारपसार गराउनका लागि गरिएको कार्यक्रममा विश्वकै दुर्लभ चरालाई चिन्न नसकिएको उहाँको भनाइ थियो । चरा पत्ता लागेपछि उहाँले जनप्रतिनिधिलाई राखेर जानकारी गराइसक्नुभएको थियो । निजि लगानिमा आफुले खोजि गरेको भए पनि सरकारले त्यो अन्तराष्ट्रिय उपलब्धिको अपनत्व लिन नसकेको उहाँको बुझाइ छ । 

खरेलले नगरले रेडपाण्डालाई प्राथमिकता दिँदा हङ्रायो  चरालाई चिन्न किन सकेन भन्दै प्रश्न गर्नुभएको थियो । रेडपाण्डा नेपालका करिब १२ जिल्लामा पाइने भए पनि हङ्रायो चरा उक्त नगरपालिकामा मात्र फेला परेको खरेलको दाबी छ । 

उहाँका अनुसार नेपालमा डेढ सय वर्षयता उक्त चरा देखिएको थिएन । पहिले नेपालमा भए पनि प्रविधिको पहुँच नपुग्दा क्यामेरामा कैद हुन सकेको थिएन । उक्त पक्षीको अङ्ग्रेजी नाम ‘रुफस नेक्ड हर्नबिल’ हो भने वैज्ञानिक नाम ‘एसोरो निपालेन्सिस’ हो । नगरपालिकाका प्रमुख रणबहादुर राईले चराको विषयमा थप बुझेर अघि बढ्ने बताउनुभयो । उहाँले यस विषयमा धेरथोर जानकारी भए पनि वृहत रुपमा अध्ययन गर्न बाँकी रहेको बताउनुभएको छ ।

बुधबार १२ असोज २०७९ ०२:४१ PM मा प्रकाशित

प्रतिक्रिया