×

महंगो बन्दै तीज

images

काठमाडौं ।  महिलाहरुको महान चाड तीजको रौनक बढ्दोे छ । केही वर्ष कोरोनाले निरासापूर्ण बनाएको यो चाड अहिले महिलाहरु धुमधामले मनाउन थालेको पाइएको छ । बिशेष गरेर नयाँ पुस्ताका महिलाले तीज आउनु पुर्व नै दर खान शुरु गरिसकेकोले यसमा थप रौनक देखिन थालेको छ भने अर्कोतर्फ केही दिन अगावैको तडकभडकले तीजको असली संस्कृती उनीहरुले बिर्सन थालेका हुन कि भन्ने जस्तो पनि देखिन्छ । 

तीज हामी महिलाहरुको महान चाड हो र यसलाई रमाइलो गरेर मनाउनु पर्छ तर यसको उपयोग सहि ढँगले गर्न जानेन भने तीजको के मतलब भयो र, भन्नुहुन्छ कलाकार दीपाश्री निरौला । तीजको अवसर भन्दै अहिले होटल तथा पार्टी प्यालेसमा भोज खाने, नाचगान गर्ने र तीजे प्रतियोगिता आयोजना गर्ने चलन हावी हुँदै जान थालेको उहाँको भनाई छ । निरौला भन्नुहुन्छ, ‘पहिला पहिला दर खान सबै परिवार जमघट भएर राती खाने गरिन्थ्यो तर अहिले त्यो चलन हराएको छ । अहिले दरलाई जतिबेला पनि खान मिल्ने माध्यम बनाइएको छ ।’ 


सँस्कृतिको जर्गेना गर्ने नाममा तीजलाई महँगो पर्व बनाइदैछ । पहिले एक दिन खाइने दर अहिले हप्ता दिन अघिदेखि ने खान थालिएको छ । तीजको वर्तको एक दिन अघि नाचिने नाच अहिले पहिलेदेखि नै नाच्न थालिएको छ । तर पछिल्ला पुस्ताका महिला यसलाई भड्किलो पर्व मान्न तयार छैनन् । एक दिनमा तीनदेखि चारवटा तीज कार्यक्रममा सहभागी जनाइरहनुभएकी गायिका तथा नेपाल राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान कि उपाध्यक्ष राधिका हमाल पुन भन्नुहुन्छ, कोराना पछि अहिले महिलाहरुको लागि तीज उर्लेर आएको छ । अहिले पहिला भन्दा तीज खासै भड्किलो नभएको पनि उहाँको भनाई छ । अहिले भड्किलोपन धेरै कम भएको छ । 


कुनै जमाना थियो, माइतीमा दर खाने र चौतारामा धित मरुन्जेल नाच्ने गाउने । टाढा माइती भएका या माइती नभएका महिलाहरु घरमै तीज मनाउथे र माइत जान नपाएको पिडा गित मार्फत पोख्थे । यो त्यो जमानाको कुरा हो, जतिबेला महिलाहरुको सँसार घर, घाँस दाउरा र मेलापातामा सीमित थियो । तर आज समय बदलिएको छ, महिलाहरुको सँसार फराकिलो भएको छ र तीज फेरिएको छ । 


गायिका टीका पुन तीजको कार्यक्रम गर्न जापान जान नपाएपछि आफनो दुखसो सुनाउँदै भन्नुहुन्छ जापानमा फेरी कोरोनाले गर्दा मेरो कार्यक्रम नै रद्ध भयो । अब आफनै देशमा मनाउने हो, तीज । उहाँ अहिले तीजमा बिकृती भित्रिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, हामीले आफनो संस्कृतिलाई बिर्सदै गएका छौं । अलिकति आफनो मौलिकतामा पनि ध्यान दिने हो कि ? 


तीज भनेको महिलाहरुले मनाउने धार्मिक र सास्कृति पर्व हो । र यसमा महिलाहरुले गीतको भाका मार्फत आफनो खुशीसंगै दुख पनि साटासाट गर्ने चलन छ । गीतकार लोकराज अधिकारी भन्नुहुन्छ, अहिले बिस्तारै तीज मनाउने शैलीमा परिवर्तन आएको छ । तीजमा गाईने गीतको मर्म  पनि हराउन थालेको छ । तीज केही भड्कीलो हुँदै गएको पनि अधिकारीले प्रष्ट्याउनु भयो । तीजको भाका र शब्द पनि फेरिँदै गएकोले यसको मौलिकता संकटमा आएको उहाँको भनाई छ । 


यता संगीतकार दिपक शर्मा तीजको रौनकता दुई दिनमा नै सक्नुपर्ने बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, तीज महिलाहरुको चाड हो र यसलाई भड्कीलो तरिकाले नभएर सभ्य तरिकाले मनाउन जरुरी छ । हामीले हाम्रो संस्कृतिलाई पनि बिर्सन हुँदैन । गोरखापत्र दैनिक

आइतबार​ १२ भदौ २०७९ ०७:२० AM मा प्रकाशित

प्रतिक्रिया