×

रास्वपाको निर्णयविरुद्ध पुगे निर्वाचन आयोग मुकुल

images

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधाननिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आइतबार निर्वाचन आयोगमा दर्ता भएको पत्रमा ढकालले पदमुक्त गरिएकोबारे आफूलाई जानकारी नभएको भन्दै उनले यदी त्यस्तो कुनै पत्र आएमा अवैधानिक ठहर गर्दै अद्यावधिक नगर्न उनले आग्रह गरेका छन्। 


निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्न आएका पत्रमा विश्वास नगर्न ढकालले आयोगलाई भनेका छन्। ‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ को उपदफा (२) बमोजिम मलाई सफाइ पेस गर्ने मानसिव मौका दिइएको छैन। नेपालको संविधानले नेपाललाई लोकतान्त्रिक मुलुकको रूपमा व्याख्या गरेको र सफाइको मौका दिनपर्ने विश्वव्यापि लोकतान्त्रिक मूल्य मान्यता रहेको, राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि सो व्यवस्था गरेकाले सफाइको मौका नदिइ गरिएको कुनै पनि कारवाही अवैधानिक ठहर्छ,’ ढकालले भनेका छन्। 

२५ असारमा रास्वपा केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री, प्रवक्ता एवम् केन्द्रीय समिति सदस्यबाट बर्खास्त गर्ने निर्णय गरेको थियो । ‘यद्यपि, मैले पदमुक्त बारेमा पार्टीबाट कुनै पनि पत्र हालसम्म प्राप्त गरेको छैन’, निर्वाचन आयोगमा दिएको निवेदनमा उनले भनेका छन्, ‘यससम्बन्धमा यदि त्यस प्रकारको निर्णय भएको रहेछ भने त्यो अवैधानिक रहेको र त्यस अवैधानिक निर्णयलाई राजनीतिक दलसम्बन्धीको ऐन, २०७३ को दफा ५१ बमोजिम तीन दिनभित्र अद्यावधिक गर्नका लािग त्यस आयोगमा रास्वपाबाट कुनै पत्र आए त्यसलाई अवैधानिक ठहर गर्दै अध्यावधिक नगर्नका लागि यो पत्र माननीयज्यूसामु पेस गरेको छु ।’

पार्टीले ढकाललाई कारबाहीमा चित्त नबुझे ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय लिएको छ । कारबाही विधिसंगत नभएकाले आफू पदमा बहाल रहेको ढकालको जिकिर छ ।  

 

यस्तो छ पत्र:

आइतबार​ १३ साउन २०८१ ०१:०३ PM मा प्रकाशित

प्रतिक्रिया