×

५० हजार धरौटीमा छुटे निलम्बित मुख्यसचिव अर्याल

images

काठमाडौं । विशेष अदालतले तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालसँग ५० हजार रुपैया धरौटी मागेको छ । अन्तःशुल्क स्टिकर छपाई खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको थुनछेक बहसपछि विशेषले आइतबार अर्यालसँग  धरौटी मागेको हो ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बयानपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटी मागेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । धरौटी बुझाएर उनी आईतबार नै रिहा भएका छन् ।

अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको छ ।

त्यही मुद्दा लागेका केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अदालतमा हाजिर भएका थिए, उनलाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरणलाई लिएर अर्यालसहितका पदाधिकारीविरुद्ध अख्तियारले भ्रष्टाचारले  मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले उनीसहितका प्रतिवादीहरूलाई एकमुस्ट ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो दाबी गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते तत्कालीन मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरेपछि उनी स्वत: निलम्बनमा परेका थिए । त्यसपछि उनलाई सरकारले राष्ट्रिय योजना आयोगमा मुख्यसचिव सरहको विशेष पद सिर्जनागरी जगेडामा राखेको थियो । 

आइतबार​ १३ साउन २०८१ ०८:४१ PM मा प्रकाशित

प्रतिक्रिया