काठमाडौँ । नेपाली काँग्रेसको आन्तरिक किचलोले बागमती प्रदेशको सरकारनै संकटमा परेको छ । मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध संसदीय दलमा बहुमत कांग्रेस सांसदले अविश्वास प्रस्ताव दर्ता गरेपछि उनको पद संकटमा परेको हो । प्रदेशमा काँग्रेसका ३७ सांसद रहेका छन् । अहिले मुख्यमन्त्री लामाविरुद्ध २१ सांसद देखिएका छन् ।
लामा सरकारमै मन्त्री रहेका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले पदबाट राजीनामा दिएपछि लामाले राजीनामा स्वीकृत नगरेर उनीहरुलाई बर्खास्त गरेका थिए । कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँलाई संसदीय दलको नेता बनाउने प्रयासस्वरूप लामाविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ ।
लामाविरुद्धको अविश्वास प्रस्तावबारे आज छलफल हुने कार्यक्रम छ । दिउँसो १ बजे अविश्वास प्रस्तावबारे निर्णय गर्न संसदीय दलको बैठक बोलाइएको छ । यस बैठकमा कांग्रेसले नेता राजन केसीलाई प्रतिनिधि तोकेर विवाद मिलाउन पठाएको छ ।
संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि १५ दिनभित्र दल नेताले यसबारे छलफल गर्नुपर्ने र सहमति नभए निर्वाचनमा जानुपर्ने कांग्रेस संसदीय दलको विधानमा व्यवस्था छ । आजको छलफलमा सहमति नभए विधान अनुसारको प्रक्रियामा जाने बताइएको छ ।
कांग्रेसको केन्द्रमा चर्किदै गएको गुटबन्दीको असर बागमती प्रदेशमा देखिएको बताइएको छ । लामाले सभापति देउवाको साथ छोडेर शेखर कोइरालालाई साथ दिन थालेपछि देउवाउनीविरुद्ध असन्तुष्ट बनेको र मुख्यमन्त्रीबाट राजीनामा दिन भनेको बताइएको छ । तर लामाले राजीनामा दिन अस्वीकार गरेपछि अविश्वासको प्रस्ताव आएको बुझिएको छ ।
प्रतिक्रिया