×

पशुपतिमा सुनको जलहरी प्ररण- विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ?- शेखर कोइराला

images

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जलहरी प्रकरणमा सांसदले उठाएको अभिव्यक्ति हटाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन्।  नेता  कोइरालाले पशुपतिमा सुनको जलहरी प्ररणमा सांसदले बोलेका कुरालाई रेकर्डबाट हटाउँदैमा अनियमितता ढाकछोप गर्न नसकिने बताएका हुन्। फेसबुक स्ट्याटसमार्फत प्रतिनिधि सभाका सांसदसमेत रहेका कोइरालाले सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्ने बताएका हुन्।

‘कस्तो विडम्बना संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरूप कार्य गर्ने,’ उनले भनेका छन्, ‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र ? ’

उनले सांसदको गरिमालाई कता लैजाँदैछौं भनेर प्रश्न पनि गरेका छन्। ‘के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रूपमा उपभोग पनि गर्न नपाउने हो ?,’ उनी भन्छन्, ‘संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन् भन्ने कुरा बुझौं।’

गत जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिको गर्भगृहमा सुनको भनेर पित्तलको जलहरी हालिएको बताएका थिए। त्यस्तै स्वास्थ्य सामग्री खरिदमा २ अर्ब भ्रष्टाचार भएको बताएका थिए।

एमालेले सांसदले बोलेका कुरा संसद्को रेकर्डबाट हटाउन माग गर्दै सदन अवरूद्ध गरेको थियो। सांसदका अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रष्ट्याउने तीन दलबीचको सहमतिपछि शनिबार सदनको अवरोध हटेको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा सुन भनेर पित्तल लगाएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको आरोप संसद्को रेकर्डबाट हटाउने शीर्ष नेताहरूको सहमतिमा असन्तुष्टि जनाएका हुन्।

आइतबार​ १४ जेठ २०८० ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया