काठमाडौं। काठमाडौंमा आज राजावादी र समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन्। नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन्।
सुबेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो भने प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले पनि तीन ठाउँवाट प्रदर्शन गर्ने जनाइसकेको छ।
काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर समाजवादी मोर्चालाई भृकुटीमण्डपमा र राजावादी पक्षलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिएको छ। प्रशासनको सुरक्षा रणनीतिअनुसार राजावादीको कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, ग्वार्काे, कोटेश्वर हुँदै तीनकुने आउनेछ।
यस्तै, भक्तपुरतर्फबाट आउने जुलुस कोटेश्वर हुँदै तीनकुने आउनेछ भने अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने आउनेछ। यसैगरी गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउनेगरी राजावादीको जुलुसको अर्को रुट तय गरिएको छ।
समाजवादी मोर्चाको जुलुस भने रिङरोडभित्रै सीमित राख्ने प्रशासनको योजना रहेको छ। भक्तपुरतिरबाट आउने समाजवादी मोर्चाका समर्थक सवार गाडीलाई प्रहरीले कोटेश्वरबाट बालकुमारीतर्फ डाइभर्सन गरेर पठाउने भएको छ।
समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्नेगरी रुट तय गरेको छ। कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन्। सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ।
यस स्थितिलाई कडाइका साथ लागू गर्न सकिएको अवस्थामा जम्काभेट र मुठभेडको स्थिति नआउने बुझाइ प्रशासनको रहेको छ।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आबद्ध छन्।
यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा तीनकुनेमा गर्न लागिएको प्रदर्शनमा अन्य राजावादी दल पनि जोडिँदै गएका छन्।
नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्ने बताइसकेको छ। यति मात्र नभई सुवेदी नेतृत्वको समितिले शुक्रबारको प्रदर्शनको कमान्डर नै मेडिकल व्यवसायी प्रसाईंलाई तोकेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक सुवेदीले प्रसाईं समूहले शुक्रबार गर्ने प्रदर्शनलाई समितिले समर्थन गर्ने र शुक्रबारदेखि नै आन्दोलन सुरु हुने घोषणा गरेका छन्।
प्रसाईंलाई जनकमान्डर घोषणा गर्न आयोजित कार्यक्रममा राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवलशमशेर राणा उपस्थित थिए। लोहनी र राणा मञ्चमा बसेका थिए भने पाण्डे फ्लोरमा बसेका थिए। महामन्त्री राणा सुवेदी नेतृत्वको समितिमा आन्दोलन परिचालन समितिमा पनि छन्।
संयुक्त जनआन्दोलन समितिले एक साताभित्र आफ्ना शान्तिपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई २१ चैतदेखि थप सशक्त बनाउँदै लैजाने घोषणा गरे।
‘आजको मितिले एक साताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई २१ चैतदेखि थप सशक्त बनाउँदै लैजान बाध्य हुनेछौं,’ सुवेदीले भने, ‘त्यसबाट सिर्जित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ।’
सो समितिले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरूलाई आह्वान गरेको छ। २०७२ सालको संविधानमा रहेका सकारात्मक प्रावधानलाई समेट्दै २०४७ सालको संविधानलाई आधार मानेर प्रमुख राजनीतिक पक्षहरूबीच सहमति बन्नुपर्ने चाहना रहेको सुवेदीको भनाइ छ।
दुवै प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने गरी उपत्यका प्रहरी कार्यालयले याेजना बनाएकाे जनाइएकाे छ भने सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन्। साथै, प्रदर्शन स्थलमा भनेएसपी अपिल बोहराले खटाउने गरी सुरक्षा ब्यवस्था गरिएकाे छ।
प्रतिक्रिया