काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी प्रदर्शनका क्रममा आफूले गोली चलाउन आदेश नदिएको बताएका छन्। तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले गोली चलाउन आदेश नदिएको भन्दै आफू र एमालेविरूद्ध भ्रम फैलाइएको बताएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गर्दै उनले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइएको जिकिर गरेका छन्।
‘मानौँ प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो,’ ओलीले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्,‘यो कुरा पूर्णरूपमा निराधार छ। हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ।’
सरकारले त्यतिबेला घुसपैठको सम्भावना भएकाले माइतीघरमा प्रदर्शन रोक्ने निर्णय लिए पनि युवाहरूले शान्तिपूर्ण सभाको अनुमति मागेपछि प्रशासनले सहजै दिएको उनले बताएका छन्।
अध्यक्ष ओलीले आफू स्वयंले पनि अघिल्लो दिन जेनजी सुझबुझ भएका अनुशासित र सचेत रहेको भनेर सार्वजनिक रूपमै भनेको जिकिर गरेका छन्। योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका युवाहरूलाई अगाडि राखेर संसद भवनसम्म पु¥याउन खोजेको उनको भनाइ छ।
‘करिब १२ बजेतिर घुसपैठ गर्ने तत्वहरूले युवाहरूलाई घेरेर निषेधित क्षेत्रतर्फ लगिरहेका दृश्य सबैले देखेका छौँ,’ उनले भनेका छन्,‘आयोजकहरूले बारम्बार घुसपैठ भएको जानकारी दिएर युवाहरूलाई घर फर्किन आग्रह पनि गरे। तर, योजनाबद्ध रूपमा केही समूहले बालबालिका र स्कुल ड्रेसमा रहेका नानीबाबुलाई अगाडि राखेर संसद भवनसम्म पुर्याउन खोजे।’
ओलीले संसद भवनमा आक्रमण हुनसाथ सुरक्षा निकायले कानुनअनुसार बल प्रयोग गर्ने थाहा भएर घुसपैठियाहरूले यसो गरेको जिकिर गरेका छन्।
‘संसद भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले ‘आन्दोलन’ होइन, ‘राज्यविरूद्धको हमला’ मान्छ। संसद भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चल्यो, र त्यसपछि दुई घण्टासम्म भएका घटनाले हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ,’ ओलीले भनेका छन्।
प्रतिक्रिया